उपचारका लागि प्रादेशिक अस्पताल जलेश्वर लगिएका एकजना कैदीबन्दीको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको बटेश्वर गाउँपालिका- १ कार्तिकुमरनिवासी ५६ वर्षीय जोगेन्द्र महरा रहेको प्रहरीले जनाएको छ ।
०३८ सालमा आगजनी मुद्दामा उनी अदालतबाट दोषी साबित भएका थिए । दोषी साबित भई कैद सजाय तोकिएका उनी सोही वेलादेखि फरार थिए । उनलाई प्रहरीले दुई वर्षअघि मात्र पक्राउ गरी अदालतमा पेस गरेकाे थियो। जिल्ला अदालत महोत्तरीले उनलाई कारागार चलान गरेको थियो ।
मृतक कैदीले अचानक पेट दुखेको कारागार प्रशासनलाई जानकारी गराएपछि मध्यरात नै उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको जलेश्वर कारागारका प्रमुख (जेलर) अशोक क्षेत्रीले बताए ।
उनकाे शव पोस्टमार्टकका लागि अस्पतालमै राखिएको छ । पोस्टमार्टमपछि शव परिवारलाई बुझाइनेछ । मृतक महराले लामो समयदेखि विभिन्न रोगको औषधि सेवन गरिरहेको कारागार प्रशासनले जनाएको छ ।