भारतको प्रयागराजमा जारी कुम्भ मेलामा सहभागी भएर फर्किँदै गरेको गाडी दुर्घटना हुँदा एकै परिवारका पाँच नेपालीको मृत्यु भएको छ । बिहारको मुजफ्फरपुरनजिकै राजमार्गमा शनिबार साँझ बिआर ३२ पिए ४६६१ नम्बरको स्कार्पियो दुर्घटनाग्रस्त हुँदा महोत्तरी मनराकट्टीका ट्राफिक प्रहरी जवान मनोहर झाको परिवारका पाँचजनाले ज्यान गुमाएका हुन् ।
भारतीय मिडिया दैनिक भास्करका अनुसार मृत्यु हुनेमा मन्तरणा देवी, बालकृष्ण झा, अर्चना ठाकुर, इन्दु देवी र जिपचालक छन् । चालकको नाम नखुले पनि उनी सिराहाको भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । घटनास्थलमा पुगेका प्रत्यक्षदर्शीका अनुसार तीव्र गतिमा रहेको स्कार्पियोले एक मोटरसाइकलचालकलाई बचाउने प्रयास गर्दा अनियन्त्रित भई पल्टेको थियो ।
सिराहास्थित ट्राफिक प्रहरी कार्यालयमा कार्यरत झासहित दुर्घटनामा चारजना घाइते भएका छन् । दुर्घटनामा मनोहर, कामिनी झा, सृष्टि ठाकुर, नेपाल प्रहरीका जवान मनोज यादव र एकजना नाम नखुलेका व्यक्ति गम्भीर घाइते भएका छन् ।
घाइतेको मुजफ्फरपुरस्थित एसकेएमसिएच (श्रीकृष्ण मेडिकल कलेज एन्ड हस्पिटल)मा उपचार भइरहेको छ । घाइते कामिनी झाका अनुसार उनीहरू प्रयागराजमा महाकुम्भ स्नान सकेर अयोध्या र वाराणसीको धार्मिक यात्रा पनि सम्पन्न गरी घर फर्किँदै थिए ।
मधेश प्रदेश प्रहरी प्रमुख डिआइजी लालमणि आचार्यका अनुसार घटनाको जानकारी पाएलगत्तै महोत्तरी प्रहरी प्रमुख उपरीक्षक नकुल पोखे्रलले भारतीय प्रहरीसँग समन्वय गरी घटनाको जानकारी लिई उद्धारका लागि पहल गरिरहेको बताए ।

साउदीमा बस दुर्घटनामा परेर तीन नेपालीको मृत्यु, एक घाइते
श्रमिकहरू सवार बस साउदी अरबको जिजानमा दुर्घटना हुँदा तीनजना नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरका रूपक कार्की, पाल्पाका कृष्ण खत्री र कपिलवस्तुका मीनबहादुर राणा रहेको नेपाली दूतावास साउदी अरबले जनाएको छ । उनीहरू अरेबियन कन्सोलिडेटेड औद्योगिक क्लिनिङ सर्भिसमा कार्यरत थिए । कार्की स्काफोल्डर फोरम्यान, खत्री बिए टेक्निसियन र राणा चालक थिए ।
दुर्घटनामा इलामका सुकबहादुर लिम्बू गम्भीर घाइते भएका छन् । उनको अलेमिस अस्पतालमा उपचार भइरहेको दूतावासले जनाएको छ । सोही दुर्घटनामा भारतका नौ र अफ्रिकी देश घानाका तीनजनाको पनि मृत्यु भएको छ । दुर्घटनामा कुल ११ जना घाइते भएका थिए । जिजानको रिफाइनरी रोडमा गत सोमबार बससँग टे«लर ठोक्किँदा दुर्घटना भएको बताइएको छ ।