फाेन र सामाजिक सञ्जालमा कुराकानी गरेर प्रेममा रहेका भाेटेकाेसी गाउँपालिका - १ सेमुङका २० वर्षीय दिनेश बिक केही दिनअघि काठमाडौंबाट घर आए । १२ कक्षासम्म पढेका बिक विदेश जाने तयारीमा थिए ।
हप्ता दिनमा भिसा मिल्ने भएकोले घरमा रहेकी आमालाई भेट्न गाउँ आएका थिए । घर आएको बेला आमालाई मात्रै हाेइन प्रेमिकालाई पनि भेट्ने याेजना बनाए ।
शुक्रबार ठुलाेबुबाकाे छाेरा सुरेश बिकलाई साथी लिएर प्रेमिका भेट्न तातोपानीतर्फ लागे । तर, दुखकाे कुरा प्रेमिकालाई भेटेकाे केही समयमा उनकाे मृत्यु भएको छ ।घटना शंकास्पद रहेकाे पीडित पक्षले बताएका छन् । नेपाल प्रहरी अनुसन्धानमा खटिएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकृत इन्स्पेक्टर वीरेन्द्रकुमार यादवले दिएको जानकारी अनुसार घटना शुक्रबार मध्याह्नतिरकाे हाे । भाेटेकाेसी गाउँपालिका वडा नं २ काेदारी बस्ने १९ वर्षीया देवकी घतानी भेट्न दिनेश काेदारीस्थित काेदारी माध्यमिक विद्यालयमुनि रहेकाे हेलिप्याड भ्युटावरमा पुगे । बिक पुगेकाे आधाघण्टापछि प्रेमिका घतानी त्यहाँ आइन् । उनी काेदारी माध्यमिक विद्यालयमा ११ कक्षामा पढ्छिन् ।
घटनामा भतिजकाे शंकास्पद मृत्यु भएपछि शाेकमा परेका काका राजकुमार बिक तत्काल घटनास्थल पुगे । उनले दिएको जानकारी अनुसार दुई प्रेमी-प्रेमिका गफ गरिरहेकाे ठाउँबाट पर रहेका मृतककाे ठूलाेबुबाकाे छाेरा सुरेशले आधाघण्टापछि माेबाइल हेर्न छाेडेर दाजु भएतिर हेर्दा दुवैजना देखेनन्। फाेन गर्दा पनि उठेन । धेरै प्रतीक्षा गरे तर दाजु नआएपछि उनी घर फर्कँदा हेलिप्याड भ्युटावरमुनि काेदारी सडककाे कुनामा दाजुकाे रक्तमुछेल शरीरलाई प्रहरीले नियन्त्रणमा लिएको देखेपछि प्रहरीसँगै उनी पनि हिन्दी स्वास्थ्य चाैकीमा गए ।
यद्यपि, उनको मृत्युु भइसकेको थियाे । इलाका प्रहरी कार्यालय काेदारीकी इन्स्पेक्टर सञ्जिता श्रेष्ठ र इलाका प्रहरी कार्यालय बाह्रबिसेका इन्स्पेक्टर सुमेश पाण्डेको संयुक्त प्रहरी टाेलीले घटनास्थलकाे गहिरिएर अनुसन्धान गरिरहेकाे छ । घटना भवितव्यं हाे वा कर्तव्य कुनै तथ्यप्रमाण हालसम्म फेला नपरेको प्रहरी निरीक्षक पाण्डेले जानकारी दिए ।
प्रहरीले अनुसन्धानका लागि बिककी प्रेमिका देवकी घतानी, काेदारीका २५ वर्षीय उजिरबहादुर घतानी र १९ वर्षीय राजकुमार सुनारलाई नियन्त्रणमा लिएको छ । मृतकका भाइ सुरेशलाई पनि प्रहरीले अनुसन्धानका लागि चाैकीमा राखेकाे छ ।
प्रारम्भिक बयानमा देवकीले हामी दुईबीच गफ भइरहेको बेला विद्यालयतर्फ फर्केर हेर्दा दाजुहरु हेलिप्याड टावरतिर आएको देखेर प्रेमिका बिकलाई जानकारी दिँदा डराएर एकाएक भिरबाट लडेकाे बताएकी छन् । तर, बिक पक्षले घटना कर्तव्य भएकोले अनुसन्धान गर्न प्रहरीसमक्ष किटानी जाहेरी दिएकाे छ । प्रहरीले हालसम्म मुद्दा दर्ता गरेकाे छैन।