संसद्मा दर्ता भएको नेपाल प्रहरीसम्बन्धी विधेयकले संगठनमाथि सरकारको हस्तक्षेप बढ्ने देखिएको छ । प्रहरीको नियन्त्रण गृह मन्त्रालयले गर्ने तथा आइजिपीको नियुक्तिमा अहिलेको भन्दा स्वविवेकी अधिकार दिइएपछि यसले संगठनलाई नै कमजोर बनाउने भन्दै पूर्वप्रहरी अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् ।
खासगरी विधेयकमा रहेको प्रहरी परिचालनसम्बन्धी प्रावधान विवादित छ । विधेयकको दफा ७(२) मा ‘नेपाल प्रहरीको परिचालन, नियन्त्रण, निर्देशन र सुपरिवेक्षण मन्त्रालयले गर्नेछ’ भन्ने प्रावधान छ । यसले प्रहरीको चेक अफ कमान्डमा गृहबाट हस्तक्षेप हुन सक्ने आशंका बढाएको छ ।
अवकाशप्राप्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले यस्तो प्रावधानले बर्दीधारी प्रहरी संगठन सीधै ‘सिभिलियन’को हातमा जाने बताए । ‘अहिलेसम्म मन्त्रिपरिषद्को निर्णयबाट प्रयोग गर्दै आएको अधिकारलाई अब गृह मन्त्रालयले सीधै प्रयोग गर्न थाल्दा कस्तो अवस्था देखिएला, सजिलै अनुमान गर्न सकिन्छ,’ उनले भने, ‘यस्तो व्यवस्थाले प्रहरी संगठनमा मात्र होइन, समग्र देशकै शान्ति–सुरक्षामा गम्भीर असर पर्छ । प्रहरीको मनोबल उकास्नुपर्नेमा झनै खस्किने अवस्था सिर्जना हुन्छ । यसले निजामती र बर्दीधारीबिचको भिन्नता मेटाउनेछ । यसको घातक परिणाम देखिन सक्छ ।’
स्रोतका अनुसार सुरुमा अपराध अनुसन्धानको नियन्त्रणसमेत गृह मन्त्रालयबाट हुने प्रावधान राखिएको थियो । प्रहरीले त्यसमा असहमति जनाएपछि हटाइएको हो ।
गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले प्रहरीको परिचालन, नियन्त्रण, निर्देशन र सुपरिवेक्षण मन्त्रालयले गर्ने प्रावधान नयाँ विषय नभएको दाबी गरे । ‘अहिले पनि प्रहरीको परिचालन, नियन्त्रण, निर्देशन र सुपरिवेक्षण मन्त्रालयबाटै हुँदै आएको छ, प्रहरी नेतृत्वसँग छलफलपछि नै यो प्रावधान अघि बढेको हो,’ उनले भने, ‘यसले प्रहरी कमजोर हुने भन्ने हुँदैन ।’ तर, यसअघिको ऐनमा यस्तो प्रावधान थिएन ।
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरकै सहमतिमा विधेयकमा यो प्रावधान राखिएको स्रोतको दाबी छ । तर, पछिल्लो समय अवकाशप्राप्त प्रहरी अधिकारीले यसबाट संगठनको चेन अफ कमान्डमा हस्तक्षेप बढ्ने बताएपछि उनी पनि यसलाई सच्याउनुपर्ने पक्षमा उभिएका छन् ।
आइजिपी नियुक्तिमा झनै मनोमानीको जोखिम
नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकको नियुक्तिमा ज्येष्ठताभन्दा कार्यकुशलता र कार्यक्षमतालाई आधार बनाउने प्रस्ताव सरकारले गरेको छ । संसद्मा गत मंगलबार दर्ता भएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयकमा यस्तो व्यवस्था छ ।
यसअघिको प्रहरी ऐनमा प्रहरी महानिरीक्षकको बढुवामा ज्येष्ठतालाई पहिलो नम्बरमा राखिएको थियो । अहिलेको विधेयकमा कार्यकुशलता र कार्यक्षमतालाई प्राथमिकता दिँदै ज्येष्ठतालाई तेस्रो नम्बरमा राखिएको छ । यस्तो प्रावधानले आइजिपी नियुक्तिमा थप चलखेल बढाउने प्रहरी अधिकारीको चिन्ता छ । अहिले पनि हरेकपटक अत्यधिक चलखेलका कारण अन्तिम समयमा आइजिपीको नियुक्ति हुने गरेको छ । धेरै नियुक्ति विवादमा पर्दै आएका छन् ।
प्रहरीको विधेयकको दफा १२ मा भनिएको छ, ‘नेपाल सरकारले जनपद प्रहरी समूहका प्रहरी अतिरिक्त महानिरीक्षकमध्येबाट र प्रहरी अतिरिक्त महानिरीक्षक नभएको अवस्थामा जनपथ प्रहरी समूहका प्रहरी नायव महानिरीक्षकमध्येबाट सामान्यतया वहालवाला प्रहरी महानिरीक्षक अवकाश हुनुअगावै कार्यकुशलता, कार्यक्षमता, ज्येष्ठता, उत्तरदायित्व वहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिका प्रहरी कर्मचारीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामथ्र्यको आधारमा एकजनालाई प्रहरी महानिरीक्षक पदमा नियुक्त गर्नेछ ।’ सशस्त्र प्रहरीको विधेयकमा पनि यस्तै प्रावधान छ । ‘कार्यकुशलता र कार्यक्षमताको मूल्यांकन गर्ने वस्तुगत प्रणाली छैन,’ एक उच्च प्रहरी अधिकारी भन्छन्, ‘जसकारण कार्यक्षमताको नाममा ज्येष्ठ अधिकृतलाई पन्छाएर आफूअनुकूल नियुक्त गर्ने सम्भावना हुन्छ ।’
हाल कार्यान्वयनमा रहेको ऐन र नियमावलीमा ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व वहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिका प्रहरी कर्मचारीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामथ्र्यको आधारमा एकजनालाई प्रहरी महानिरीक्षक पदमा नियुक्त गर्ने उल्लेख छ । ज्येष्ठताको प्रावधानलाई पछि राख्नुको उद्देश्य नै प्रतिस्पर्धीमध्ये जोसुकैलाई छान्न सकिने व्यवस्था गर्न खोजिएको छ । प्रहरी महानिरीक्षकमा गृह मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले नियुक्त गर्ने हालको प्रावधान छ ।
अर्काेतर्फ, नेपाल प्रहरी र सशस्त्र प्रहरीका आइजिपीको बढुवामा सिफारिस समिति राख्ने प्रस्ताव दुवै संगठनले गरेकोमा अस्वीकृत भएको छ । गृह मन्त्रालयले मंगलबार संसद्मा दर्ता गरेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयकमा एआइजी वा डिआइजीमध्येबाट सीधै बढुवा गर्ने प्रावधान छ ।
नेपाल प्रहरी र सशस्त्रले लोकसेवा आयोगको नेतृत्वमा यस्तो बढुवा समितिको प्रस्ताव गरेका थिए । पछि गृह मन्त्रालयले सचिवको नेतृत्वमा समिति बनाउने प्रस्ताव अघि बढाएपछि विवाद भएको थियो । यस्तो समितिले बढुवा प्रक्रिया आफूअनुकूल नहुने भएपछि सरकारले पुरानै व्यवस्था राखेको छ ।
साथै, रिक्त हुनुभन्दा एक महिनाअघि नै बढुवा गर्ने प्रस्ताव पनि अस्वीकृत भएको छ । विधेयकमा ‘सामान्यतया वहालवाला प्रहरी महानिरीक्षक अवकाश हुनुअगावै’ भन्ने शब्द राखिएको छ ।