सिराहाका तीन स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग

बिहिबार, १७ माघ, २०८१
डिजिटल संस्करण

गरिब, विपन्न, असहायहरूलाई निःशुल्क तथा स्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि सघाउ पुर्याउने उद्देश्यले सिराहाका दुई अस्पताल र एक स्वास्थ्य चौकी गरी तीन स्वास्थ्य संस्थालाई एक करोड रुपैयाँ बढी मूल्यको स्वास्थ्य सामग्री सहयोगस्वरूप उपलब्ध गराइएको छ।

हेल्पिङ ह्यान्ड फर रिलिफ एन्ड डेभलपमेन्ट युएसएको आर्थिक सहयोगमा हेल्पिङ हर्ट नेपालले सिराहाको धनगढीमाईस्थित नयनपुर नगर अस्पताल, सुखीपुर नगरपालिकाको आधारभूत अस्पताल र अर्नामा गाउँपालिका महनौरस्थित स्वास्थ्य चौकीलाई एक करोड पाँच लाख रुपैयाँ मूल्यका स्वास्थ्य सामग्री उपलब्ध गराएको हेल्पिङ हर्टका अध्यक्ष जियाउद्दिन खानले बताए। 

उनका अनुसार अस्पताल र स्वास्थ्य चौकीलाई प्रसूती बेड, सर्जिकल सामग्री, ह्विलचेयर, औषधि, ग्लोब्स, सिरिन्जलगायतका आवश्यक सामग्री र उपकरणहरू उपलब्ध गराइएको हो। ‘अस्पताल र स्वास्थ्य चौकीलाई आवश्यक पर्ने औषधि, उपकरणहरू निःशुल्क उपलब्ध गराइएको हो,’ उनले भने ‘उक्त सहयोगपछि गरिब, बिपन्नले स्तरीय र निःशुल्क स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ।’

स्वास्थ्य सामग्रीहरु स्थानीय जनप्रतिनिधि, मधेश प्रदेश सांसद, स्वास्थ्यकर्मीलगायतको उपस्थितिमा हस्तान्तरण गरिएको उनले बताए। 

अस्पताललाई प्राप्त स्वास्थ्य सामग्री तथा उपकरणले बिरामीलाई स्तरीय स्वास्थ्य सेवा दिन महत्वपूर्ण सहयोग पुग्ने धनगढीमाई नगरका स्वास्थ्य शाखा प्रमुख विशेश्वरप्रसाद यादवले बताए। ‘नगरपालिकाले आफ्नो स्रोतले भ्याएसम्म त गरिरहेको छ,’ उनले भने ‘संस्थाको सहयोगले सेवा सुधारसँगै प्रवाह गर्न सहज हुनेछ।’

हेल्पिङ हर्टका महासचिव मेराज खानका अनुसार स्थानीय समुदायलाई आधारभूत स्वास्थ्य सेवामा सहज पहुँच र सुधारका लागि सघाउन संस्थामार्फत स्वास्थ्य सामग्री, स्वास्थ्य उपकरण, औषधि उपलब्ध गराइएको हो।

सिराहासहित संस्थाले बागमती प्रदेशको चितवन, मधेश प्रदेशको सर्लाही, महोत्तरी र कोशी प्रदेशको झापामा समेत गरी १६ वटा सरकारी स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री र उपकरणहरू उपलब्ध गराएको उनले बताए। उनका अनुसार संस्थामार्फत दलित, अति विपन्न र आर्थिक रूपमा अत्यन्त कमजोर समुदायका नागरिकले स्तरीय स्वास्थ्य सेवा पाउन सकून् भन्ने उद्देश्यले सरकारी अस्पतालहरूलाई प्राथमिकतामा राखेर सहयोग गर्दै आइरहेको छ।

२०७२ सालको भूकम्पदेखि नेपालका विभिन्न जिल्लामा स्वास्थ्य, दिगो कृषि र शिक्षाको क्षेत्रमा ७० करोडभन्दा बढी मूल्यबराबरका सामग्री वितरण गरिसकेको संस्थाले जनाएको छ।

सुझावित समाचार