एपिएफ क्लब अपराजित रहँदै राष्ट्रिय महिला लिग २०२४-२५ को च्याम्पियन बनेको छ । फाइनल खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबमाथि ४–० ले हराउँदै एपिएफ लगातार च्याम्पियन बनेको हो । एपिएफ ०६८ देखि लगातार च्याम्पियन हुँदै आएको छ ।
बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा एपिएफलाई च्याम्पियन बनाउन सविता रानामगरले दुई तथा मिडफिल्डर सरु लिम्बू र अनु लामाले एक गोल गरे । अनुको घरेलु लिगमा अन्तिम गोल हो । यो सँगै उनले घरेलु लिगबाट बिदा लिएकी छिन्।
सबै गोल दोस्रो हाफमा सम्भव भएका हुन् । पुलिसले बलियो रक्षापंक्ति बनाएपछि एपीएफले दोस्रो हाफमा गोल निकाल्यो ।
लिगको पहिलो खेलमा पुलिससँग गोलरहित बराबरी खेलेको एपिएफ त्यसपछिका १८ खेलमा शतप्रतिशत जित निकाल्दै च्याम्पियन बनेको हो । पुलिसविरुद्ध एपिएफको यो लगातार तेस्रो जित हो ।
दोस्रो चरणका दुवै लिगमा एपिएफले पुलिसलाई हराएको थियो । पहिलो लेगमा ६–० को लज्जास्पद हार बेहोरेको पुलिस दोस्रो लेगमा २–० ले पराजित भएको थियो ।
पहिलो हाफमा एपिएफले कुनै पनि राम्रो अवसर सिर्जना गर्न सकेन। दोस्रो हाफमा एकपछि अर्को आक्रमण बुनेको एपिएफले खेलको ६४औँ मिनेटमा गोल गर्यो । सरु लिम्बूले राइट साइडबाट सरुले दिएको क्रसलाई सविताले वान टचमा गोल गरिन् ।
पाँच मिनेटपछि सरुको गोलमार्फत एपीएफले दुई गोलको अग्रता लियो । मिडफिल्डर रेनुका नगरकोटेको हेडर पोलमा लागेर फर्किएपछि प्राप्त रिबाउन्डको फाइदा सरुले उठाएकी हुन् । सरुको प्रहारले दोस्रो बारको जाली चुमेको थियो । निर्धारित समय सकिन सात मिनेट बाँकी छँदा प्रीतिको थ्रु पासमा सविताले अर्को गोल थपिन् । पुलिसका खेलाडीले गल्ती गरेपछि अनुले इन्जुरी समयमा खाली पोस्टमा गोल गरिन् ।
उपाधिसँगै एपिएफले १० र उपविजेता एपिएफले ५ लाख पाएको छ । आर्मी तेस्रो भयो ।