नेपालबाट स्थायी बसोबासका लागि भन्दै एक वर्षको अवधि (सन् २०२४) मा ६६ हजार ८३५ जनाले देश छाडेका छन् ।
अध्यागमन विभागको तथ्यांकअनुसार जसमा ३२ हजार २८७ महिला र ३४ हजार ५४४ जना पुरुष छन् । एक वर्षको अवधिमा कुल १६ लाख ७४ हजार २२५ जना नेपाली विदेश गएका छन् । जसमध्ये अस्थायी बसोबासको प्रयोजनका लागि बिदेसिने नागरिकको संख्या एक लाख ८२७ रहेको छ । सबैभन्दा धेरै संख्या भने कामको खोजीमा बिदेसिनेको रहेको छ ।
स्थायी बसोबासमा लागि देश छाड्नेको संख्या तुलनात्मक रूपमा भने केही घटेको छ । सन् २०२३ मा ७० हजार ९१५ जनाले स्थायी बसोबासका लागि नेपाल छाडेका थिए ।
यसपटक सो संख्या ६६ हजारमा झरेको देखिन्छ । अस्थायी बसोबासमा देश छाड्ने भने यसपटक बढेका छन् । गत वर्ष ९२ हजार ३४९ जनाले देश छाडेको विभागले जनाएको छ ।
विभागका अनुसार एक वर्षमा नेपालबाट कामको खोजीमा आठ लाख ५६ हजार ४२२ नेपाली बिदेसिएका छन् । जसमा ९६ हजार १९७ महिला र सात लाख ६९ हजार ८९० पुरुष छन् ।
अध्ययनमा एक लाख १९ हजार ४०९ जना बिदेसिएका छन् । स्वास्थ्य उपचारमा १८ हजार ७१३ जना नेपाली बिदेसिएको विभागको तथ्यांकमा उल्लेख छ । युएन मिसनमा पाँच हजार ८४७ जना बिदेसिएको देखिन्छ । खेलकुदजन्य गतिविधिका लागि दुई हजार ६ सय ८० जना विदेश गएका थिए ।