नेतन्याहुले पाए ट्रम्पको निम्तो

बुधबार, १६ माघ, २०८१
डिजिटल संस्करण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई अमेरिका भ्रमणको निम्तो दिएका छन् । ट्रम्पले फेब्रुअरी ४ मा ह्वाइटहाउसमा नेतन्याहुलाई स्वागत गर्ने भएका छन् । 

ट्रम्पको दोस्रो कार्यकालमा विदेशी राजनीतिज्ञको यो पहिलो आधिकारिक भ्रमण हुनेछ । इजरायली प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा नेतन्याहुले इजरायल र उसका छिमेकीहरूबिच शान्ति ल्याउन र हाम्रा शत्रुहरूसँग मिलेर लड्न ट्रम्पसँग वार्ता गर्न उत्सुक रहेको उल्लेख गरेका छन् ।

रिपोर्टअनुसार अमेरिकाले इजरायल र हमासलाई युद्धविराम जारी राख्न निरन्तर दबाब दिइरहेको छ । यस सन्दर्भमा, ट्रम्प र नेतन्याहुबिचको भेटघाट धेरै विशेष हुने मानिएको छ । इजरायल र हमासबिचको १५ महिनाको युद्धपछि जनवरी १९ मा युद्धविराम सुरु भएको थियो ।

यस समयमा, बन्धकहरू साटासाट भइरहेका छन् । युद्धविरामको अर्को चरणको बारेमा फेब्रुअरी ३ देखि छलफल हुने भएको छ । यसको उद्देश्य युद्धलाई स्थायी रूपमा अन्त्य गर्नु हो ।

अर्कोतर्फ, नेतन्याहुले अमेरिकी राष्ट्रपतिसँग हतियार आपूर्तिबारे पनि कुरा गर्न सक्ने बताइएको छ ।  यस महिना शपथग्रहण गर्नुअघि ट्रम्पले मध्यपूर्वका लागि आफ्ना विशेष प्रतिनिधि स्टिभ विटकफलाई यस क्षेत्रमा पठाएका थिए । इजरायल-हमासको १५ महिनाको युद्धपछि, रफाह सीमा र दक्षिण गाजा क्षेत्रबाट तीन लाखभन्दा बढी प्यालेस्टिनी नागरिकहरू उत्तर गाजा फर्किएका छन् । जनवरी १९ मा युद्धविराम भएपछि, जनवरी २७ मा इजरायलले प्यालेस्टिनी नागरिकहरूलाई उत्तरी गाजामा फर्कन अनुमति दियो ।

सुझावित समाचार