राजस्व अनुसन्धान कार्यालयले एक कपडा व्यापारीविरुद्ध मंगलबार उच्च अदालत तुलसीपुरमा राजस्व चुहावटको मुद्दा दायर गरेको छ । बुटवल उपमहानगरपालिका-५ नेपालगन्ज रोडस्थित अलिम इन्टरप्राइजेजका प्रोपाइटर अलिम मियाँविरुद्ध कार्यालयले बिगाे र जरिवानासहित करिब सात करोड दाबी गरेर मुद्दा दायर गरेको हो।
मियाँले विनास्रोतका चोरीपैठारी गरिएका मालवस्तुको कारोबार गरी भन्सार महसुल, मूल्य अभिवृद्धि कर (भ्याट) र आयकर छली गरेका कार्यालयले जनाएको छ । भन्सार महसुल, भ्याट तथा आयकर छली गरी राजस्व चुहावट गरेको कसुरमा अनुसन्धान गरी उच्च अदालत तुलसीपुर बुटवल इजलासमा मंगलबार मियाँविरुद्ध मुद्दा दायर गरिएको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख विवेक घिमिरेका अनुसार मियाँलाई फरार प्रतिवादी रूपमा मुद्दा दायर गरिएको छ।
मियाँविरुद्ध १५ महिनाअघिदेखि नै अनुसन्धान चलेको थियो । तर, अनुसन्धान थालेयता नै उनी फरार रहे । फरार भएका कारण उपस्थित गराउन नसकिएपछि फरार प्रतिवादीका रूपमा प्रतिवादी कायम गरेर मुद्दा दायर गरिएको घिमिरेले नयाँ पत्रिकालाई बताए।
राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन (संशोधन सहित) २०५२ को दफा ३ द्वारा निषेधित कार्य गरी सोही ऐनको दफा ४ को कसुर गरेको पुष्टि हुन आएकोले प्रतिवादी मियाँलाई ऐनको दफा २(छ१) बमोजिम तीन करोड ४३ लाख ३९ हजार बिगो कायम गरी कार्यालयले मुद्दा दायर गरेको छ । भन्सारसहित भ्याट र आयकरसमेत छलिएकामा सबैलाई जोडेर कार्यालयले उक्त बिगो कायम गरेको हो।
राजस्व चुहावट ऐनको दफा २३ को उपदफा (१) बमोजिम बिगोको शतप्रतिशत जरिवाना हुने मागदाबी पनि कार्यालयले लिएको छ । बिगो र जरिवानासहित जोड्दा मियाँविरुद्ध करिब ६ करोड ८७ लाख दाबी गरिएको कार्यालय प्रमुख घिमिरेले बताए।
ऐनको दफा २३ को उपदफा ९१०(ख) बमोजिम प्रतिवादीलाई हदैसम्मको कैद सजाय हुन मागदाबी लिई अभियोगपत्र दायर गरिएको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।