‘नो केबलकार’ समूहको अनिश्चितकालीन बन्दले ताप्लेजुङमा यातायात प्रभावित

मंगलबार, १५ माघ, २०८१
डिजिटल संस्करण

हिमाली जिल्ला ताप्लेजुङमा ‘नो केबलकार’लगागत ६ संगठनले मंगलबारदेखि अनिश्चितकालका लागि यातायात बन्द गरेका छन्। पाथीभरा क्षेत्र (मुकुम्लुङ)मा केबलकार निर्माणको विरोध गर्दै आएको पहिचान पक्षधर तथा नो केबलकार समूहले अनिश्चितकालीन यातायात बन्द घोषणा गरेका हुन्।

मेची राजमार्ग, तमोर करिडोर, साथै तेह्रथुम हुँदै मंगलबार बिहान झापा, मोरङ, सुनसरीको धरान जाने सबै यातायातका साधनहरू चलेनन्। ताप्लेजुङ प्रवेश गर्ने सबै नाकाहरू ठप्प छन्। जिल्लाको नौ स्थानीय तहमा जाने सवारीका साधनहरू ताप्लेजुङ बसपार्कमै थन्किएका छन्। बन्दका कारण सर्वसाधारण मर्कामा परेका छन्।

मुकुम्लुङ संरक्षण संयुक्त समितिका संयोजक श्री लिखिमले केबलकार निर्माण खारेज गर्न, ‘सैन्यकरण’ फिर्ता, नियन्त्रणमा लिइएका ‘योद्धा’हरूको विनासर्त रिहाइ तथा झुटा मुद्दाहरू लगाउन बन्द गर्नुपर्ने माग गरेर बन्दको आह्वान गरिएको बताए।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी तथा सशस्त्र प्रहरी प्रमुखले मुकुम्लुङप्रेमीहरूलाई गोली हान्न आदेश दिएको भन्दै उनीहरूले सार्वजनिक रूपमा माफी माग्नुपर्नेसमेत बताएका छन्। शान्तिपूर्ण प्रदर्शनका लागि भेला भएको समूहमा गोली चलाइएकाले निश्चितकालीन बन्द आह्वान गर्न बाध्य भएको संघर्षरत पक्षले जनाएको छ।

सुझावित समाचार