तेह्रथुमको आठराईमा प्रचण्डद्वारा सहिद पार्कको उद्घाटन, जनयुद्ध संग्रहालयको शिलान्यास

सोमबार, १४ माघ, २०८१
डिजिटल संस्करण

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  तेह्रथुमको आठराईमा जनयुद्ध तथा शान्ति स्मारक संग्रहालयको शिलान्यास गरेका छन् । 

आठराई गाउँपालिका–३ मा  संग्रहालयको शिलान्यास तथा सोही स्थानमा निर्मित ह्वाकू बगाले सहिद पार्कको उनले सोमबार उद्घाटन गरेका हुन् । माओवादी तेह्रथुमका नेता रघु गौतमका अनुसार स्मारक निर्माणका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चालु आर्थिक वर्षको बजेटमा एक करोड रुपैयाँ विनियोजन गरेको छ । 

विसं २०५८ माघ १४ गतेका दिन उक्त स्थानमा तत्कालीन सुरक्षा फौजले १८ जना माओवादी सेनाका लडाकु र ३ जना स्थानीयको गोली हानी हत्या गरेका थिए । पाँचथरको गोपेटार प्रहरी चौकी आक्रमणमा घाइते भएका लडाकुहरूको उपचार भइरहेको स्थानलाई घेरा हाली सुरक्षाकर्मीले आक्रमण गरेका थिए । उनीहरुको स्मृतिमा जनयुद्ध स्मारक बन्न लागेको हो । संग्राहालय ३३ रोपनी क्षेत्रफलमा फैलिएको छ। तत्कालीन बाबुराम भट्टराई नेतृत्वको सरकारले विसं २०६९ सालमा उक्त स्थानमा स्मारक र सङ्ग्रहालय बनाउने निर्णय गरेको थियो।


स्मारक शिलान्यास कार्यक्रममा प्रचण्डले जनयुद्धमा पहिलो पटक ठूलो नरसंहार भएको स्थानलाई राजनीतिक पर्यटनको गन्तव्य बनाउन सकिने बताए। “यो क्षेत्रमा सङ्ग्रहालय निर्माण गरेर पूर्व क्षेत्रको ऐतिहासिक राजनीतिक पर्यटनको गन्तव्य बनाउन सकिन्छ,“ प्रचण्डले भने। 

एमाले र कांग्रेस सम्मिलित गठबन्धनप्रति कटाक्ष गर्दै प्रचण्डले यो गठबन्धन दल र दल मिलेर नभई दलाल–दलाल  मिलेर निर्माण गरेको आरोप लगाए। 

शिलान्यास कार्यक्रममा उक्त घटनामा मारिएका सबै २१ जनाका परिवारका सदस्यलाई प्रचण्डले दोसल्ला ओढाएर सम्मान गरेका थिए। प्रचण्डले जनयुद्धका समयमा पूर्वी कमान्डको सैन्य राजनीतिक नेतृत्व गरेका माओवादी उपमहासचिव वर्षमान पुनलाई पनि सँगै लिएर तेह्रथुम पुगेका थिए। 
 

सुझावित समाचार