पाँचौँ टाइगर कप भलिबल : साबिक विजेता हेल्प नेपाल स्तब्ध

सोमबार, १४ माघ, २०८१
डिजिटल संस्करण

साबिक विजेता हेल्प नेपाल स्पोर्टस् क्लबले पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब पुरुष भलिबल प्रतियोगितामा खराब सुरुवात गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा हेल्प नेपाल आफ्नो पहिलो खेलमा भारतको सुनील भलिबल क्लबसँग ३–१ को सेटमा पराजित भयो । पहिलो सेटमा सहज जित निकालेको हेल्प नेपालले त्यसपछिका सेटमा खराब प्रदर्शन गर्यो । 

पहिलो सेटमा २२–२५ ले पछि परेको सुनील भलिबलले दोस्रोमा २५–२३, तेस्रोमा २७–२५ र चौथोमा २५–१६ अंकसहित खेलमा बाजी मार्यो । खराब प्रकाशका कारण शनिबार स्थगित भएको महिलातर्फको खेलमा आयोजकको टोलीले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराएको छ । आयोजक टोली २५–१४, २५–११ र २५–२१ ले विजयी भयो । आयोजकको टोली राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीको कप्तानीमा थाइल्यान्डका तीन खेलाडीसहित मैदान उत्रेको थियो ।

पुरुषतर्फ घरेलु टोली गण्डकी प्रदेशमाथि नेपाल पुलिस क्लबले ३–२ को सेटमा जित निकाल्यो । पहिलो दुई सेटमा अग्रता लिएको पुलिस त्यसपछिका दुई सेटमा पछि परेको थियो । अन्तिम तथा पाँचौँ सेटमा पुलिसले गण्डकीलाई हरायो । पहिलो २५–२२ र दोस्रो २५–२१ ले आफ्नो पक्षमा पारेको पुलिस तेस्रो सेटमा २५–१९ र चौथो सेटमा २५–१४ ले पछि परेको थियो । निर्णायक अन्तिम सेटमा पुलिस १५–१० ले विजयी भयो । पुरुषतर्फ आर्मी क्लबले नेपाल एपिएफ क्लबलाई २५–१८, २५–२३ र २५–१५ ले हरायो । 

See More On

सुझावित समाचार