नवौँ मिस तामाङ पोखराको उपाधि रोशिलालाई

आइतबार, १३ माघ, २०८१
डिजिटल संस्करण

नवौँ संस्करणको मिस तामाङ पोखरा ०२५ को उपाधि रोशिला घिसिङ तामाङले जितेकी छिन् । युवा पिंढीलाई तामाङ भाषा, संस्कृति र संस्कारबारे जानकारी दिने एवं प्रवर्द्धन गर्ने उद्देश्यसहित बैदाम तामाङ सेवा समाजले आयोजना गरेको प्रतियोगिताको फाइनलमा सहभागी १० प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि हात पारेकी हुन् । पोखरा–६ लेकसाइडकी रोशिलाले उपाधिसँगै नगद एक लाख, ताज, ट्रफी र प्रमाणपत्र साथमा आकर्षक गिफ्ट ह्याम्परहरू हात पारेकी छन् । उनले मिस फ्रेन्ड्लीको सबटाइटलसमेत हात पारिन् ।

शनिबार साँझ पोखरामा सम्पन्न फाइनलमा फर्स्ट रनरअपको उपाधि आकृति थिङ तामाङले हात पारिन् । ताज, ट्रफी, प्रमाणपत्र र ५० हजार नगद पुरस्कार पाएकी आकृति मिस पंचुअलको सबटाइटलसमेत हात पारिन् ।

सोनिका मोक्तान सेकेन्ड रनरअप हुँदै ३० हजार नगद पुरस्कार पाएकी उनले मिस पपुलरको सबटाइटलको उपाधिसमेत हात पारिन्, पूर्णिमा ब्लोन तामाङले भ्युअर्स च्वाइससँगै मिस कल्चरको सबटाइटल हात पारिन्। भ्युअर्स च्वाइसको उपाधिसँगै उनले नगद २० हजार पुरस्कार पाइन् । 

कार्यक्रमको निर्णायकहरूमा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, मिस नेपाल २००९ जेनिशा मोक्तान, गीतकार तीर्थ तामाङ, कलाकार जानकी बोहरा र कमला गुरुङ रहेका थिए।  

कार्यक्रममा गायक सोनाम मोक्तान, हास्य कलाकार राजेन्द्र नेपाली, युवराज भण्डारीलगायतको प्रस्तुतिसँगै विभिन्न सांस्कृतिक कार्यक्रमसमेत गरिएको थियो। यसअघि सहभागीहरूलाई ४५ दिन लामो तालिम दिइएको थियो। 

समाजले सन् २०१६ देखि हरेक वर्ष ल्होसारको अवसरमा मिस तामाङ पोखरा तथा ल्होसार म्युजिकल फेस्टिभल गर्दै आएको छ। प्रतियोगिताले समुदायका युवतीहरूको प्रतिभा प्रस्फुटन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने सँगै मौलिक भाषा र संस्कृतिलाई युवा पुस्तामा हस्तान्तरण गर्नका लागि सहयोग गर्ने आयोजकको भनाइ छ।

आफ्नो समुदायप्रति प्रेम जगाउनसँगै जन्मदेखि मृत्यु संस्कारसम्म तामाङ समुदायको आफ्नै मौलिक संस्कार रहेकाले यस सम्बन्धमा नयाँ पुस्तालाई जानकार दिने उद्देश्यसमेत कार्यक्रमको रहेको कार्यक्रम संयोजक पूर्वमिस तामाङ पोखरा रोश्मा ब्लोन तामाङले जानकारी दिइन्।
 

सुझावित समाचार