बाल विकास सहजकर्ता र प्रसनिको नक्कली प्रमाणपत्र

आइतबार, १३ माघ, २०८१
डिजिटल संस्करण

विशेष अदालतले नक्कली प्रमाणपत्र मुद्दामा दुई राष्ट्रसेवकलाई सजाय सुनाएको छ। आइतबार विशेषले एकजना बाल विकास सहजकर्ता र एक प्रहरी सहायक निरीक्षकलाई सजाय सुनाएको हो।

विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले यी दुई मुद्दामा फैसला गरेको हो। पर्साको धोबिनी गाउँपालिकाअन्तर्गत पर्ने नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भिखमपुरमा कार्यरत बाल विकास सहयोगी कार्यकर्ता पुनमदेवी कुर्मी नक्कली प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको कसुरमा दोषी पाइएकी हुन्।

विशेषका अनुसार उनलाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना हुने भएको छ। उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत ३० चैतमा मुद्दा दायर गरेको थियो।

कुर्मीले ठाकुर महेश्वरप्रसाद सिंह संस्कृत प्रा. सह उच्च विद्यालय भारतबाट माध्यमिक तहको परीक्षा उत्तीर्ण गरेको भनी प्रमाणपत्र पेस गरेकी थिइन्। तर, उक्त प्रमाणपत्र नक्कली रहेको तथा उनी सबै विषयमा अनुत्तीर्ण भएको पुष्टि भएपछि सजाय तोकिएको हो। कुर्मी उक्त विद्यालयमा १२ असार ०६६ देखि बाल विकास सहजकर्ताका रूपमा कार्यरत थिइन्। 

यसैगरी, प्रहरी सहायक निरीक्षक पदमा कार्यरत लोकबहादुर विष्टमाथि पनि नक्कली प्रमाणपत्रको कसुर ठहर भएको छ। उनको हकमा भ्रष्टाचार निवारण ऐन, २०१७ आकर्षित हुने भएकाले केवल ४ हजार रुपैयाँ जरिवाना हुने फैसला भएको छ।

अख्तियारले यसै वर्ष २० असारमा मुद्दा दायर गरेको थियो। विष्टले माध्यमिक शिक्षा परिषद् उत्तर प्रदेशबाट हाइस्कुल पास गरेको भनी प्रमाणपत्र लिई ०५५ कात्तिकदेखि प्रहरीमा कार्यरत थिए।

सुझावित समाचार