प्रेस सेन्टर नेपाल १ नं. (कोशी) प्रदेश अध्यक्षमा राजन राई ‘समीप’ निर्वाचित भएका छन्। विराटनगरमा शनिबार बिहान सम्पन्न तेस्रो प्रदेश अधिवेशनको निर्वाचनमा अध्यक्षका अर्का प्रत्याशी नवराज कट्टेललाई पाँच मतले पराजित गर्दै समीप अध्यक्षमा निर्वाचित भएका हुन्।
समीपले ४१ मत प्राप्त गरेर निर्वाचित हुँदा कट्टेलले ३६ मत प्राप्त गरेका निर्वाचन मण्डलले जानकारी दिएको छ। अन्य सबै पदमा सहमति जुटे पनि अध्यक्षमा सहमति नभएपछि निर्वाचन गरिएको थियो।
खोटाङको केपिलासगढी गाउँपालिका– १ फेदी स्थायी घर भई भोजपुरमा बसेर पत्रकारिता गर्दै आएका समीप प्रेस सेन्टरको दोस्रो प्रदेश अधिवेशनबाट उपाध्यक्ष निर्वाचित भएका थिए। अध्यक्षका अर्का प्रत्याशी कट्टेल खुला उपाध्यक्ष थिए।
तीनवर्षे कार्यकालका लागि चयन गरिएको प्रेस सेन्टरको प्रदेश समितिको उपाध्यक्षहरूमा सुजन तिमिल्सिना (खुला), सुजता लिम्बू (महिला उपाध्यक्ष) र सेसेहाङ लावती (समावेशी) चयन भएका छन्। महासचिवमा गोकुल पराजुली, सचिवहरुमा ईश्वर थापा (खुला), डिकेश लामा (जनजाति), बिनु तिम्सिना (महिला), सत्यनारायण शर्मा (मधेशी) र राकेश नेपाली (दलित) तथा कोषाध्यक्षमा झुलन रेग्मी चयन भएका छन्।
२३ सदस्यीय प्रदेश समितिको सदस्यहरूमा हरि अधिकारी, बाबुराम मुडियारी, पवन साह, मनिता राई, अनिता रसाइली, मोतीराम रसाइली, प्रवीण बानियाँ, भीमकुमार चेम्जोङ, आइपी भट्टराई, नवीन सुनाम र दीपक अधिकारी चयन भएका छन्। विराटनगरस्थित विष्णुमाया सामुदायिक भवनमा आयोजित अधिवेशनको उद्घाटन वरिष्ठ उपाध्यक्ष कमल गिरीले गरेका थिए।
माघ १०, ११, र १२ गते भएको प्रेस सेन्टरको अधिवेशनमा कोशी प्रदेशअन्तर्गत पर्ने १४ जिल्लाका प्रतिनिधिहरू सहभागी भएका थिए।