ललितपुर महानगर नगर प्रहरी र काठमाडौं उपत्यका ट्राफिक प्रहरीको सहकार्यमा साप्ताहिक ट्राफिक सचेतनाको शुभारम्भ गरिएको छ । आइतबार बिहान जावलाखेलस्थित प्रांगणमा ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले ट्राफिक सन्देशमूलक प्लेकार्ड देखाउँदै कार्यक्रमको उद्घाटन गरे ।
ट्राफिक नियमको पालनाबारे यात्रु, सवारीचालक र पैदलयात्रुलाई सचेतना दिन यो सप्ताह सुरु भएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख विनोद घिमिरेले सडक दुर्घटना बढेको बताए । उनका अनुसार गत पुस महिनामा मात्रै काठमाडौं उपत्यकामा सडक दुर्घटनाबाट २० जनाको ज्यान गएको छ । दुर्घटनामा मृत्यु हुनेमध्ये सबैजसो दुईपांग्रे सवारी चलाउने छन्।
‘सडक दुर्घटना भयावह नै छ, पुस महिनाभित्र मात्रै उपत्यकामा २० जनाको मृत्यु भएको छ, १७ जना गम्भीर घाइते भए, यस्तो घटनाले परिवार र समाजलाई नराम्रो गर्छ, त्यसैले ट्राफिक नियम पालना गरौँ,’ उनले भने, ‘उपत्यकामा ट्राफिक नियमको उल्लंघन बढ्दो छ, ट्राफिक प्रहरीले त्यसकारण सचेतना जगाइरहेकोछ ।’
महानगरका मेयर महर्जनले ट्राफिक सचेतना र जीवन रक्षाको लागि ट्राफिक सप्ताह सुरु गरिएको बताए । नगर प्रहरीले नेपाल प्रहरीसँग मिलेर गरेको यो कार्यक्रम ट्राफिक दुर्घटना कम गर्न प्रभावकारी हुने मेयर महर्जनले विश्वास व्यक्त गरे ।

‘हामिले ट्राफिक नियम पालना गराउन र जाम हुने स्थिति कम गर्न थुप्रै काम गरिरहेका छौ,’ उनले भने, ‘अर्को वर्ष ट्राफिक लाइट थप्दै लैजान्छौँ, ट्राफिक लाइट र सडकबत्ती नहुँदा दुर्घटना हुने अवस्था छ, त्यसैले यसमा लगानी गर्छौँ ।’
कुसुन्तीमा लिफ्ट जडानसहितको पुल निर्माण हुँदै छ । उनले पाटन अस्पतालअगाडिको सडकमा पनि लिफ्टसहितको पुल निर्माणका लागि डिजाइन भइसकेको जानकारी दिए।
सप्ताह कार्यक्रममा विद्यार्थी, नगर प्रहरी, ट्राफिक प्रहरीलगायतले जनचेतनामूलक प्लेकार्ड सडकमा देखाउने छन्। ट्राफिक व्यवस्थापन सहज पार्न हाल ललितपुर महानगरपालिकाले यलो बक्स चिन्न र एआई ट्राफिक लाइट जडान गरेको छ ।