गाजा युद्धविराम अनुमोदनको समयमा इजरायली सरकारभित्र देखिएको गहिरो विभाजनसँगै सम्झौताको दिगोपनमाथि शंका गर्ने धेरै छन्
गाजा युद्धविरामको अनुमोदन गर्ने वेलामा इजरायली सरकारभित्र देखिएको गहिरो विभाजनसँगै सम्झौताको दिगोपनमाथि शङ्का गर्ने थुप्रै छन् । उसो त पछिल्लो समय कतारमा भएको सहमतिअनुरूप लागू भएको युद्धविराम ४२ दिनसम्म रहने तय भएको छ । यस अवधिमा एक बन्दकको बदला ३० प्यालेस्टिनी कैदी रिहा गरिनेछ । साथै त्यस्तै युद्धविराम कार्यान्वयन हुँदा गाजाका सहरी केन्द्रबाट इजरायली सेना बिस्तारै फिर्ता हुनेछन् र त्यस भागमा मानवीय सहायताको वृद्धि हुनेछ ।
तर, गाजा युद्धविरामलाई लिएर इजरायली सरकारमा देखिएको विभाजनले राम्रो संकेत गर्दैन । हमाससँग भएको सम्झौतालाई अनुमोदन गर्न ३३ सदस्यीय इजरायली मन्त्रिपरिषद्को बैठक सात घण्टासम्म चलेको थियो । शुक्रबार रातिदेखि सुरु भएको बैठक सोचेभन्दा असामान्य रूपमा लामो भएको थियो । एक त अहिले भएको युद्धविराम युद्धको स्थायी अन्त्य होइन । न त यस अवधिमा पहिलो चरण युद्धविरामपछि गाजामा बाँकी रहेका सबै ६५ बन्धक नै छाडिनेछन् । तीमध्ये धेरै मरिसकेको अनुमान छ । युद्धको स्थायी अन्त्यबारेको छलफल युद्धविरामको १६औँ दिनदेखि सुरु हुने तय भएको छ ।
युद्धविरामका आगामी दिन कस्ता हुनेछन् भन्ने कुरा मुख्यतः इजरायली राजनीतिक उतारचढावले निर्धारण गर्न सक्छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अहिले आएर सहमति जनाएको सम्झौताका प्रायः बुँदा उनले एक वर्षदेखि विरोध गर्दै आएको प्रस्तावसँग धेरै हदसम्म मिल्दोजुल्दो छ । एक वर्षअघि बाइडेन सरकारले फेब्रुअरीमा यस्तै सम्झौताको प्रस्ताव गर्दा नेतन्याहुले ‘हमासको कुनै पनि भ्रमपूर्ण माग पूरा नगर्ने एन्टोनी ब्लिन्केन (अमेरिकी विदेशमन्त्री)लाई बताएको’ भनेका थिए । उनले त्यस वेला आफूहरू पूर्ण विजयको एकदम नजिक भएको बताएका थिए ।
अमेरिकाले यसअघि ल्याएको (र, नेतन्याहुले आलोचना गरेका) प्रस्तावमा विभिन्न चरणको युद्धविराम, इजरायली सेनाको चरणबद्ध फिर्ती र सयौँ प्यालेस्टिनी कैदीको रिहाइको विषय उल्लेख थियो । अहिले नेतन्याहुले सहमत जनाएको सम्झौतामा पनि त्यही नै कुरा छ । हमास निर्विवाद रूपमा कमजोर भएको छ । यसका बाबजुद इजरायलले नेतन्याहुको लामो समयदेखि दाबीअनुरूपको ‘पूर्ण विजय’ हासिल गरेको छैन । ‘हाम्रो मूल्यांकनअनुसार हमासले जति लडाकु गुमायो, त्यति नै संख्यामा नयाँ लडाकु भर्ती गरेको छ,’ ब्लिन्केनले यस हप्ता भने । पहिले विरोध गर्दै आएको सहमितका बुँदामै नेतन्याहुले सहमति जनाएपछि उनको सरकार अतिवादी साझेदार अलमल्लमा परेका छन् ।
‘म प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई सम्मान गर्छु र आगामी दिनमा पनि उनी नै प्रधानमन्त्री रहिरहून् भन्ने सुनिश्चित गर्न लागि पर्नेछु । तर, अहिले जुन घातक सम्झौतामा हस्ताक्षर भएको छ, त्यसैकारण म यो सरकार छाड्नेछु,’ नेतन्याहुको सरकारका राष्ट्रिय प्रतिरक्षामन्त्री इटामार बेन गभिरले शुक्रबार बिहान एक विज्ञप्तिमा भने । गभिरले उनको चेतावनीअनुरूप जनवरी १९ मा युद्धविराम र बन्धक सम्झौताका कारण राजीनामा दिए ।
बेन गभिरको बहिर्गमनले मात्र नेतन्याहुको सरकार ढल्नेछैन । तर, उनले सरकारमा सम्मिलित अन्य उग्र दक्षिणपन्थी पार्टीलाई बाहिरिन आह्वान गरेका छन् । यदि बेन गभिरको आह्वानलाई स्विकारेर अर्थमन्त्री बेजालेल स्मोट्रिचले पनि सत्तारुढ गठबन्धन छाडे भनेचाहिँ सरकार ढल्नेछ । आफँै उग्र दक्षिणपन्थी राजनीतिज्ञ स्मोट्रिच गाजाको हालको युद्धविरामको विरोधी नभए पनि यो स्थायी नहोस् भन्ने चाहन्छन् । उनी ४२ दिने युद्धविरामपछि इजरायल पुनः युद्धमा फर्कियोस् भन्ने सुनिश्चितता चाहन्छन् ।
स्मोट्रिचको बहिर्गमनले नेतन्याहुको वर्तमान गठबन्धन तोडिए पनि उनलाई विपक्षी येस एटिड पार्टीका यायर लापिडले बचाउन सक्छन् । लापिडले प्रधानमन्त्रीलाई व्यवस्थापिकामा समर्थन गरेर यसको संकेत गरिसकेका छन् । तर, लापिडसँग गठबन्धन गरेर नेतन्याहु राजनीतिक जुवा खेल्न चाहँदैनन् । किनकि, लापिडले भोलिका दिनमा आफूअनुकूल परेको वेला जुनसुकै वेला समर्थन फिर्ता गरेर चुनाव आह्वान गराउने स्थिति निर्माण गर्न सक्छन् । यस खतराबाट बच्न नेतन्याहु जुनसुकै रणनीति अपनाउन तयार हुनेछन् ।
नेतन्याहुले स्मोट्रिचलाई आफ्नो समर्थन सुरक्षित गर्न कुनै प्रतिबद्धता जनाए–नजनाएको स्पष्ट भइसकेको छैन । तर, उनले स्मोट्रिचसँगको भेटघाट बढाएको देखिएको छ । कतारमा युद्धविराम घोषणा हुनुभन्दा केही घण्टाअघि उनले स्मोट्रिचसँग गरेका दुईपटकको भेटघाटले यही संकेत गर्छ । अमेरिकी राष्ट्रपति बाइडेनले युद्धविरामको घोषणा गर्दा वार्ता ६ हप्ताभन्दा बढी लम्बिए पनि युद्धविराम जारी रहने र वार्ता चलिरहने बताएका थिए । तर, इजरायलले युद्धविरामको ४३औँ दिनमा बमबारी सुरु गर्यो भने सम्झौता भाँडिनेछ ।
बुधबार कतारी प्रधानमन्त्रीले सम्झौताको घोषणा गरेको केही घण्टापछि नेतन्याहुको कार्यालयले रिहा हुन लागेका केही प्यालेस्टिनी कैदीलाई लिएर इजरायलको सर्वाधिकारमाथि हमासले आपत्ति जनाएको भन्दै विरोध जनाए । आरोपसँगै उनले आफ्नो टोलीलाई दृढ रहन सन्देश दिए । अन्तिम समयमा देखिएको यो अवरोध वास्तविक हुन सक्छ, तथापि हमासले यसलाई खण्डन गर्यो । नेतन्याहुले यस‘दृढ अडान’मार्फत खासमा देशभित्रका उग्र दक्षिणपन्थी मतदातालाई शान्त पार्न खोजेका थिए । मतभेदहरू कम भएपछि मन्त्रिपरिषद्ले आफ्नो अनुमोदनलाई द्रुत गतिमा अगाडि बढायो । त्यसैले, शनिबारलाई राखिएको मन्त्रिपरिषद्को बैठक शुक्रबार राति नै राखिएको थियो ।
पछिल्लो युद्धविरामप्रति नेतन्याहु नरम हुनुमा अमेरिकी राष्ट्रपति पदमा डोनाल्ड ट्रम्पको फिर्तीले पनि भूमिका खेलेको छ । विदेशमा अमेरिका संलग्न जारी युद्ध समाप्त गर्ने प्रतिबद्धतासहित चुनाव लडेका ट्रम्पको फिर्तीले नेतन्याहुलाई सम्झौता गर्न ठुलो दबाब दिएको थियो । ‘नेतन्याहुले आफ्ना थप बलियो समर्थक ट्रम्प फर्किंदै छन् भन्ने विश्वासमा राष्ट्रपति जो बाइडेनको प्रस्तावलाई बेवास्ता गर्ने गर्थे । अब ट्रम्प फर्किसकेपछि उनीसँग त्यस्तो सुविधा बाँकी रहेन ।
क्रेभरले सिएनएनमा समसामयिक विषयमा लेख्ने गर्छन्
–सिएनएनबाट