राप्रपा केन्द्रीय समिति बैठक लिङ्देनको विरोध गरेका राणाको चर्को आलोचना

आइतबार, १३ माघ, २०८१
डिजिटल संस्करण

राप्रपा केन्द्रीय समिति बैठकमा शनिबार बोल्ने अधिकांश नेताले अध्यक्ष राजेन्द्र लिङ्देनका निर्णय प्रक्रियाको बचाउ गरेका छन् । शुक्रबार अध्यक्ष लिङ्देनको आलोचना गर्दै महामन्त्री डा. धवलशमशेर राणाद्वारा पेस भएको लिखित राजनीतिक प्रस्ताव पूर्वाग्रही रहेको भन्दै उनीहरूले फिर्ता लिन माग गरेका छन् । शनिबार बोलेका ७१ केन्द्रीय सदस्यमध्ये ५९ जनाले अध्यक्ष लिङ्देनको समर्थन गरे भने १२ जनाले महामन्त्री राणाको पक्ष लिएका छन् ।

शनिबारको बैठकमा नेताहरू ठाकुरप्रसाद शर्मा, प्रकाश रिमाल, धनबहादुर बुढा, रामानन्द न्यौपाने, विजय खड्का, उज्जलकृष्ण श्रेष्ठ, उद्धवराज भेटवाल, हरिप्रसाद गौतम, राजु बस्नेत, वीरेन्द्र बम, सहदेव भारती, डा. गीताभक्त जोशी, अशोकसिंह साम्राट, देवेन्द्र प्रधान, आनन्द अधिकारी, हरि घिमिरे, धर्मराज जोशी, राम थापा, लोकेन्द्र कुँवर, लक्ष्मीनानी थापालगायत ५९ जनाले अध्यक्ष लिङ्देनद्वारा प्रस्तुत मौखिक प्रतिवेदनको समर्थनमा बोलेका थिए । एक केन्द्रीय सदस्यका अनुसार बैठकमा जनकराज पाठक, धनसुर शाही, रञ्जन कार्की, भरत पाठक, सूर्यबहादुर सिंह, प्रवीण ठोकर तामाङ, रामराज कोइराला, शशी सिलवाल, निरञ्जन थापा (ललितपुर), समृद्धि राणा, प्रेम बलायर र मीना स्वर्णकारले अध्यक्ष लिङ्देनको कार्यशैलीको आलोचना गर्दै महामन्त्री राणालाई समर्थन गरेका थिए । 

पूर्वमन्त्रीसमेत रहेका पार्टी नेता ठाकुरप्रसाद शर्माले संस्थागत निर्णय भइसकेका विषयलाई महामन्त्रीजस्तो व्यक्तिले अध्यक्षमाथि दोषारोपण गर्नु अराजनीतिक भएको आरोप लगाए । ‘तर, पार्टी सुध्रियोस् भनेर आएका कतिपय विषय स्वागतयोग्य छ,’ शर्माले बैठकमा भने । 

राप्रपा सहमहामन्त्री धनबहादुर बुढाले महामन्त्री राणा विगतमा एमाले हुँदै राप्रपामा आएको पृष्ठभूमिमा जीवनभर राजसंस्थाको पक्षमा उभिएका अध्यक्षमाथि आरोप लगाउनु अनैतिक भएको आरोप लगाए । ‘पार्टी नेताहरू पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनी, लोकेन्द्रबहादुर चन्दहरू गणतन्त्रका पक्षमा उभिँदासमेत आफ्नो निष्ठा नछाड्ने अध्यक्ष लिङ्देनलाई निष्ठा र इमानदारिताको प्रश्न गर्न मिल्छ ?’ बुढाको प्रश्न थियो । 

अर्का सहमहामन्त्री प्रकाश रिमालले लिङ्देन नेतृत्वमा आएपछि देशभर पार्टीको पक्षमा आकर्षण बढेको दाबी गरे । नेतृत्व कमजोर बनाउने र पार्टीलाई पुनः टुटफुटको शृंखलामा धकेल्ने प्रयास भएको भन्दै राणाको आलोचना गरे । 

केन्द्रीय सदस्य उद्धवराज भेटवालले ४० वर्षमुनिका नयाँ केन्द्रीय सदस्य बनाउने प्रक्रियालाई महामन्त्रीले दुष्कर्मको संज्ञा दिएको भन्दै त्यो शब्द फिर्ता लिएर युवाहरूसमक्ष माफी माग्न महामन्त्री राणासँग माग गरे । ‘विधि प्रक्रियामा छानिएर पार्टीमा आएका युवालाई तिरस्कार गर्ने, तर पार्टीको सिद्धान्त र संगठन छाडेर अर्को पार्टीको चिह्नमा चुनाव लड्न जाने नेताचाहिँ चाहिने ?’ उनले प्रश्न गरे । बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले पार्टी आन्दोलनमा जानुपर्ने माग गरेको एक नेताले बताए । 

See More On

सुझावित समाचार