साङ्गाई इतिहास म्युजियमको आयोजना तथा नेपालस्थित चिनियाँ राजदूतावास र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहभागितामा शुक्रबारबाट काठमाडौंमा चित्रकला प्रदर्शनी सुरु भएको छ।
प्रदर्शनीको पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइराला, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, नेपालस्थित चिनियाँ राजदूतावासका उपप्रमुख वाङ्सिन, साङ्गाईका सांस्कृतिक तथा पर्यटन ब्युरोका निर्देशक ओउसियाओ छुआन, साङ्घाइ क्रान्ति तथा इतिहास सङ्ग्रहालयका प्रमुख चेउ छुन हुवालगायतले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।
समारोहमा पूर्वउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले नेपाल र चीनबिचको सम्बन्ध ऐतिहासिक रहेको बताउँदै यस्ता कार्यक्रमले सांस्कृतिक कुटनीतिलाई थप बलियो बनाउने बताइन्। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले साङ्घाईको सांस्कृतिक जनजीवनको बिम्बी–झलकहरू चित्रकलामार्फत नेपालमै ल्याएर देखाइदिएकोमा आयोजकप्रति आभार व्यक्त गरे।
साङ्घाई इतिहास सङ्ग्रहालयका प्रमुख चउ छुनह्वाले साङ्घाई र काठमाडौँ हजारौँ माइल टाढा भए पनि यी दुई सहरहरूबिच गहिरो सम्बन्ध रहेको उल्लेख गरे। उनले प्राचीन रेशममार्गले नेपाल र चीनलाई विगतमा एकअर्कामा परिचित हुन मद्दत गरेको धारणा राख्दै वर्तमान परिप्रेक्ष्यमा संस्कृतिका साथै आर्थिक क्षेत्रहरूमा पनि नियमित आदान–प्रदानले यी दुई सहरहरूको सम्बन्ध अझ प्रगाढ भएको बताए।
कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पदाधिकारीहरू, चिनियाँ कलाकारहरू, विभिन्न क्षेत्र तथा सङ्घ–संस्थालाई प्रतिनिधित्व गर्ने व्यक्तिहरूको सहभागिता रहेको थियो।