नीरजले जिते सूर्य नेपाल वेस्टर्न ओपन

शनिबार, १२ माघ, २०८१
डिजिटल संस्करण

पहिलो दिनदेखि अग्रता बनाएका नीरज तामाङले शुक्रबार सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गतको सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि जितेका छन् । जयराम श्रेष्ठलाई तीन स्ट्रोकले हराउँदै उनले समग्रमा १–अन्डर २०६ स्कोर गर्न सफल भए । उनले अन्तिम दिन ४ ओभर ७३ स्कोर गर्दै उपाधि हात पारे । नीरजले एक लाख ५० हजार प्राप्त गरेका छन् । 

नीरजले पोखरामा उपाधि जितेको यो पहिलोपटक हो । उनको करिअरको तेस्रो उपाधि हो । उनले गत सिजनमा सूर्य नेपाल काठमाडौं ओपन र यस सिजनमा सूर्य नेपाल वेस्टर्न ओपन जितेका थिए । इभन पार ६९ को कार्डका साथ जयराम दोस्रो भए । जयरामले समग्रमा २ ओभर २०९ स्कोर गरेका छन् । उनले एक लाख रुपैयाँ पाएका छन् । समग्रमा ३ ओभर २१० को स्कोरका साथ भुवनकुमार रोक्काले तेस्रो हुँदै ७५ हजार रुपैयाँ हात पारे ।

भुवनले अन्तिम दिन ७ ओभर ७६ स्कोर गरेका थिए । नेपालका नम्बर एक प्रोफेसनल भुवन नगरकोटी चौथो स्थानमा सीमित भएका छन् । उनले समग्रमा ४ ओभर २११ स्कोर गरे । समग्रमा ७ ओभर २१४ स्कोरका साथ सञ्जय लामा, धन थापा, विष्णुप्रसाद शर्मा र रामे मगरले पाँचौँ स्थान बाँडेका छन् । विष्णु र रामेले ४ ओभर ७२ स्कोर गरेका थिए । सञ्जय र धनले ७ ओभर ७६ स्कोर गरे । उनीहरूले जनही ४४ हजार रुपैयाँ पाएका छन् । 

एमेच्योरमा सुरेश तामाङ पहिलो भएका छन् । इभन पार ६९ को स्कोर गरेका सुरेशले समग्रमा ९ ओभर २१६ को नतिजा निकाले । उनले शीर्ष स्थानमा सुमन परियारलाई दुई स्ट्रोकले हराए । 

See More On

सुझावित समाचार