झापादेखि पोखरासम्मका बिद्यार्थी चिकित्सा शिक्षा अध्ययनका लागि जुम्लामा

शुक्रबार, ११ माघ, २०८१
डिजिटल संस्करण

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ शैक्षिक सत्र सुरु भएसँगै चिकित्सा शिक्षा अध्ययनका लागि विद्यार्थी जुम्ला पुगेका छन् । दाङका हुमबहादुर डाँगीले छोरी वर्षालाई बिएस्सी नर्सिङ पढाउनका लागि जुम्ला पुगेको बताए । रौतहटकी कृति यादव र झापाकी सृष्टि थापामगर एमबिबिएस पढ्न जुम्ला आउँदा निकै उत्साहित देखिन्थे । काठमाडौं वा पोखराको कोलाहलपूर्ण वातावरणभन्दा जुम्ला पढ्नका लागि निकै उत्कृष्ट वातावरण रहेको उनीहरू बताउँछन् । 

त्यस्तै, नवलपरासीका सागर विश्वकर्माले प्रतिष्ठानबाट डाक्टर बनेर विकट ठाउँमा सेवा गर्ने चाहना रहेको बताए । बिएस्सी नर्सिङ पढ्न आएकी लमजुङकी कोसिका रानाभाट खुसी देखिन्थिन् । पोखराकी झरना गुरुङले भनिन्, ‘पोखराजस्तो सुन्दर सहरबाट जुम्ला आउँदा कुनै न्यास्रो लागेन । यहाँको प्रकृति र साथीहरूको साथले नयाँ ऊर्जा दिने विश्वास छ ।’

जुम्लाका सुरज उपाध्यायले भने, ‘पहिला–पहिला हाम्रा दाजुभाइ पढ्न भनेर जिल्लाबाहिर जानुपर्ने बाध्यता थियो । तर, अहिले घरनजिकै बिपिएच पढ्न पाउने भए ।’ प्राध्यापक क्षितिज उपाध्यायका अनुसार एकजना शिक्षकले चारजना विद्यार्थीलाई दैनिक हेर्न सक्ने वातावरण छ । ‘पढाइ तपाईंहरूले सोचेअनुसारको हुनेछ,’ विद्यार्थीलाई अभिमुखीकरण दिन आयोजित कार्यक्रममा उनले बताए । 

प्रतिष्ठानले पछिल्लो समय पठनपाठनमा देशमै उत्कृष्टता हासिल गरिरहेको प्रतिष्ठानका रेक्टर डबलबहादुर धामीले बताए । ‘विकटतामा रहेको यो संस्थान अहिले देशभरका विद्यार्थीको रोजाइको केन्द्रविन्दु बनेको छ, ’ उनले भने ।

बिहीबार भएको कार्यक्रममा एमबिबिएस पढ्ने ४३, बिपिएचका १५, बी फार्मका १४, बिएस्सी नर्सिङका १७ र बिएनएसका १५ ले सहभागिता जनाएको स्कुल अफ पब्लिक हेल्थ बिपिएच चौथो वर्षका संयोजक उपप्राध्यापक ओपप्रकाश काफ्लेले बताए ।
 

सुझावित समाचार