सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको सिद्धबाबा सुरुङमार्गको आज शुक्रवार ब्रेक थ्रु् गरिएको छ । एक हजार १२६ मिटर लामो सुरुङमार्गको प्रधानमन्त्री केपी ओलीको भर्चुअल माध्यमबाट ब्रेक थ्रु गरे ।
एक हजार १२६ मिटरको सुरुङमध्ये खन्नुपर्ने भाग एक हजार ८९ मिटर मात्रै भएकोमा ब्रेक थ्रुका लागि १.५ मिटर बाँकी राखेर एक हजार ८७.५ मिटर सुरुङ केही दिनअगाडि नै खनेर सकिएको थियो ।
प्रधानमन्त्री ओलीले भर्चुअल माध्यमबाट ब्रेक थ्रु गर्दै वर्तमान सरकार मुलुकको विकास र स्थिरताका लागि बनेको भन्दै विकासलाई तीव्रता दिने बताए । उनले सुशासन कसरी ल्याउन सकिन्छ भन्नेमा वर्तमान संयुक्त सरकारले विशेष रूपमा ध्यान दिएको बताए । प्रधानमन्त्री ओली स्वास्थ्य प्रतिकूलताका कारण उपस्थित हुन नसकेपछि प्रधानमन्त्रीनिवास, बालुवाटारबाट भर्चुअल रूपमा सम्बोधन गरेका हुन् ।
प्रधानमन्त्री ओलीले पहिरोले गाडी दुर्घटना हुने र जनधनको क्षति हुने पीडाबाट त्यसमार्गका यात्रीहरूलाई राहत दिन यो सुरुङमार्ग एक सफल आयोजना साबित हुने बताउँदै यसबाट लाभ लिई आवागमन सहज बनाएर सामाजिक एवं आर्थिक सम्बन्ध तथा उत्पादन आदान–प्रदान गर्न शुभकामना दिए । ‘सुरुङमार्ग ब्रेक थ्रु हुनु पाल्पा, गुल्मीलगायत यस क्षेत्रका बासिन्दाका लागि मात्रै नभएर सिंगै देशको खुसीको कुरा हो । अब नेपाल हिजोझैँ दुर्गम भन्ने रहेन । हामीले यसलाई अझ सुगम बनाउनुछ,’ प्रधानमन्त्री ओलीले भने, ‘मुलुकमा शीघ्र विकास र सुशासन दिन अहिलेको सरकार तल्लीन छ । हामी अरूको पनि सहयोग लिन्छौँ र हामी बनाउँछौँ हाम्रो देश । देशलाई फाइदा हुने कुरामा सरकारको ध्यान जानेछ । हाम्रा प्रयासहरू यसैतर्फ केन्द्रित छन् ।’
नेपाल हिजोजस्तो दुर्गम नरहेर सुगम बनाउनेतर्फ सरकार केन्द्रित रहेको धारणा प्रधानमन्त्री ओलीले राखे । कार्यक्रम स्थलमा उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह, विष्णुप्रसाद पौडेल, भौतिक यातायात तथा पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलगायत सहभागी थिए ।
सुरुङमार्ग निर्माण चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सात अर्ब ३४ करोड २१ लाख चार हजार ७३४ रुपैयाँमा ठेक्का लिएको थियो । सुरुङमार्गको तीनवटै बाइपासको ब्रेक थ्रु पुसको पहिलो साताअगाडि नै भएको थियो । त्यसयता मुख्य टनेलको काम तीव्र पारिएको थियो ।
आयोजनाकी सूचना अधिकारी इन्जिनियर सविता ज्ञवालीका अनुसार सुरुङभित्र केही समस्या आए बाइपासबाट निस्कन मिल्ने गरी यहाँ तीनवटा बाइपास बनाउने काम सँगसँगै अगाडि बढेको हो । तेस्रो र पहिलोको ब्रेक थ्रु भदौ तथा असोजमा भएकोमा दोस्राे बाइपासको ब्रेक थ्रु गत पुस ७ गते भएको थियो ।
यहाँ पहिलो बाइपासको लम्बाइ १५१ मिटर, दोस्रोको १६१ र तेस्रोको १३० मिटर रहेको छ ।
सूचना अधिकारी ज्ञवालीका अनुसार भदौ २६ गते तेस्रो र असोज ४ गते पहिलो बाइपास मुख्य टनेलसम्म खनेर सकिएको थियो । सिद्धार्थ राजमार्ग भएर साना–ठुला दैनिक हजारौँ सवारी बुटवलबाट पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, बागलुङलगायत लुम्बिनी र गण्डकीका पहाडी जिल्लाहरूमा ओहोर–दोहोर गर्छन् ।
भौतिक ४०.१८ र वित्तीय ३९.९० प्रतिशत प्रगति
शुक्रबार ब्रेक थ्रु हुन लागेको सिद्धबाबा सुरुङमार्गको बुधबारसम्मको प्रगति करिब ४० प्रतिशत रहेको छ । आयोजनाका अनुसार बुधबारसम्म सुरुङमार्गको भौतिक प्रगति ४०.१८ प्रतिशत रहेको छ । त्यस्तै, वित्तीय प्रगति ३९.९० प्रतिशत रहेको छ ।