अमेरिकी मिडियामा आएका रिपोर्टअनुसार भारत सरकारले डोनाल्ड ट्रम्पको सरकारबाट आउन सक्ने दबाब कम गर्न अवैध रूपमा अमेरिकामा बसोवास गरिरहेका १८ हजार भारतीय आप्रवासीलाई स्वदेश फिर्ता गर्ने योजना बनाइरहेको छ । अमेरिकी मिडिया ब्लुमबर्गले स्रोतलाई उल्लेख गर्दै लेखेको छ– भारत सरकारले अवैध रूपमा अमेरिकामा बसोवास गरिरहेका भारतीय आप्रवासीलाई पहिचान गर्न अमेरिकी अधिकारीसँग समन्वय गरिरहेको छ ।
ब्लुमबर्गलाई स्रोतले बताएअनुसार हालसम्म अमेरिकामा अवैध रूपमा बसोवास गरिरहेका १८ हजार भारतीय मूलका मानिसको पहिचान गरिएको छ । तथापि, अवैध भारतीयको वास्तविक संख्या बढी हुन सक्छ । ‘प्यु रिसर्च सेन्टर’को तथ्यांकले अमेरिकामा अनुमानित सात लाख २५ हजार कागजातविहीन भारतीय आप्रवासी रहेको देखाउँछ । अमेरिकामा मेक्सिको र एल साल्भाडोरका अवैध आप्रवासीपछि तेस्रो ठुलो समूहमा पर्छ, अवैध भारतीय आप्रवासी ।
ट्रम्पले पदभार ग्रहण गर्नेबित्तिकै भारतीय आप्रवासीलाई पहिचान गर्ने र अमेरिकाबाट निकाल्न सघाउने भारत सरकारको प्रयासलाई ट्रम्पलाई खुसी बनाउने प्रयासको रूपमा वर्णन गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्रम्पसँग घनिष्ठ व्यक्तिगत सम्बन्ध रहेको देखिन्छ । तिनले नियमित रूपमा एक–अर्कालाई ‘महान् साथी’ भनेर सम्बोधन गर्छन् ।
तथापि, अमेरिकी राष्ट्रपतिले आफ्नो अमेरिका–प्रथम नीतिको एक हिस्साको रूपमा भारतीय सामानमाथि उच्च भन्सार शुल्क लगाउने धम्की पनि दिएका छन् । त्यस्तो कदमले भारतीय अर्थतन्त्रलाई धक्का दिनेछ । मोदी सरकार कुनै पनि व्यापार द्वन्द्वबाट बच्न चाहन्छ ।
भारतीय अधिकारीले फर्काउन लागिएको आप्रवासीको तथ्यांक त पुष्टि गरेनन्, तर अवैध आप्रवासनको समस्यालाई सम्बोधन गर्न अमेरिकासँग नजिकबाट काम गरिरहेको भने बताए । ट्रम्पले पदभार ग्रहण गरेको एक दिनपछि अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग मंगलबार वासिंटनमा भएको भेटवार्तापछि भारतीय विदेशमन्त्री जयशंकरले पनि यसको पुष्टि गरे ।
ट्रम्पले यसै साता कार्यकारी आदेश जारी गर्दै अवैध आप्रवासनमाथि कडाइ गर्ने र लाखौँ आप्रवासीलाई देशनिकाला गर्ने आफ्नो लक्ष्यलाई तीव्रता दिन निर्देशन दिएका छन् । जयशंकरले बुधबार वासिंटनमा भारतीय पत्रकारको एक समूहसँग भने, ‘अमेरिकासहित विश्वका जुनसुकै देशमा यदि हाम्रा नागरिक अवैध रूपमा बसिरहेका छन् भने हामी उनीहरूलाई फिर्ता लिन सधैँ खुला छौँ ।’
भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले प्रक्रिया पहिले नै सुरु भइसकेको जोड दिए । गत अक्टोबरमा मात्र अमेरिकाबाट सयभन्दा बढी कागजात नभएका भारतीयलाई फिर्ता गरिएको र गत वर्ष कुल एक हजारभन्दा बढी भारतीय फिर्ता गरिएको जयसवालले बताए ।
भारत सरकार अहिले मुख्यतः अमेरिकाले उच्च सीपयुक्त आप्रवासीलाई दिँदै आएको एच–१ बी भिसा सुरक्षित गर्न चाहन्छ । प्रायः प्रविधि र इन्जिनियरिङ क्षेत्रका आप्रवासीलाई दिइने एच–१ बीको लगभग ७५ प्रतिशत हिस्सा भारतीयको छ । राम्रो रोजगारीका लागि अमेरिका जान चाहने भारतीयका लागि यो भिसा महत्वपूर्ण छ ।
पछिल्लो समय रिपब्लिकन पार्टीभित्रका केही कट्टरपन्थीले एच–१बी भिसामार्फत अमेरिकीहरूले पाउनुपर्ने प्रतिष्ठित रोजगारी विदेशीले पाउने भन्दै विरोध जनाएका छन् । ट्रम्पले पहिले पनि यस मतमा समर्थन जनाएको भए पनि हालसालै आफ्नो अडानलाई नरम बनाएका छन् । उनले यसलाई ‘महान् कार्यक्रम’को रूपमा उल्लेख गरे । यस परिवर्तनका लागि अर्बपति इलन मस्कको हात रहेको मानिन्छ ।
भारत–अमेरिका सम्बन्धलाई दुवै पक्षले उचाइ लिइरहेको सम्बन्धको रूपमा व्याख्या गर्ने गरेका छन् । यसअघिको बाइडेन प्रशासनले चीनको भूराजनीतिक प्रतिद्वन्द्वीका रूपमा भारतसँगको सम्बन्धलाई गहिरो बनाउन ठुलो प्रयास गरेको थियो । तर, पछिल्लो समय उसले भारतमाथि अमेरिकी भूमिमा गैरन्यायिक हत्याको प्रयास गरेको आरोप लगाएपछि सम्बन्ध केही चिसिन पुग्यो ।
–द गार्जियनबाट