२४ वर्षदेखि भेडाबाख्रा चराउँदै दुरजङ गुरुङ

बिहिबार, १० माघ, २०८१
डिजिटल संस्करण

लमजुङ दोर्दी गाउँपालिका- ५ सिम्रुङका ५२ वर्षीय दुरजङ गुरुङ विगत २४ वर्षदेखि भेडाबाख्रा चराउँदै श्रीमञ्जाङदेखि ओखरी, साल्मे, सिम्रुङ हुँदै लेपेखर्कसम्म पुग्छन्। फेरि हिउँद लागेपछि लेपेखर्कदेखि सो स्थान हुँदै श्रीमञ्जाङसम्म भेडाको बथानको पछि लाग्दै पुग्छन्।

बितेका २४ वर्ष उनलाई २४ दिनजस्तै लाग्छ। भेडाबाख्रालाई आफ्नो सन्तानजत्तिकै माया गर्ने उनलाई भेडाका बथानको पछि लाग्दालाग्दै समय बितेको पत्तै भएन।

गोठाला गुरुङ बाबाको मृत्यु, दाइ र ठुलोबाबाहरूले दुःख भयो भनेर गोठ छाडेपछि गुरुङ समुदायको पुर्ख्याैली पेसा धान्न, केही पैसा कमाउन र जीवन धान्ने पेसा बनाउनका लागि ०५७ मा कक्षा १० को टेस्ट फेल भएपछि यही गोठ सम्हाल्दै आएका छन्।

उनले सुरुमा आफ्नोसहित २८ जनाको ८०-९० वटा भेडाबाख्रा रहे पनि अहिले संख्या बढाउँदै दुधपोखरी गाउँपालिका- ६ जोर्नेको २१ घर र सिमुरङको गरी ४५ घरका सानाठुला गरेर आठ सयभन्दा बढी भेडाबाख्रा रहेका सुनाए। उनलाई तीनजनाले सघाउँदै आएका छन्।

मान्छेबाहेक चारवटा कुकुरले पनि सुरक्षा दिँदै आएका छन्। यत्तिका भेडाबाख्रा हुनुअघि करिब पाँच वर्षअघि सात सयवटा रहेको र एकैचोटि तीन सयवटा भेडाबाख्रा बिक्री गरेको र चार सय संख्याबाट बढ्दै हाल सो संख्यामा पुगेको भेडी गोठाला गुरुङले बताए।

उनले भने, ‘यस भेडीगोठबाट बर्सेनि १५-१६ लाखबराबरको भेडाबाख्रा बिक्री हुने गरेको छ। भेडा एक वर्षकोलाई १५ हजार, दुई वर्षकोलाई २० हजार तथा तीन वर्षकोलाई ३० हजार, यसरी नै बिक्री हुने गरेको बताइएको छ।

विशेष गरी दसैँ–तिहार, मंसिर, पुस र फागुन महिनामा भेडाबाख्राको माग हुने गरे पनि विगतको वर्षहरूमा जस्तो अचेल बिक्री कम हुन थालेको छ। पहिला भेडाबाख्रा जताततै थिएनन्, अहिले घरघरमै हुन थालेपछि माग घट्न थालेको भेडीगोठाला गुरुङले दुखेसो गरे।

गोठका लागि प्रतिदाताहरूले कम्तीमा एक हजारदेखि माथि दिने र अन्नपानी पनि दिने गरेको र सोही भरमा आफूहरूले गुजारा चलाउँदै आएको उनले सुनाए। उनले तीनजना गोठालाहरूलाई वार्षिक रु. एक-एक लाख दिने गरेको र आफूले अन्य खर्च गरेर लिने र नरहे नलिने गरेको बताए। चरन क्षेत्र अभाव, खर्क जाने–आउने बाटो समस्या, मौसम परिवर्तनले विभिन्न समस्या हुँदा भेडीगोठ धान्न गाह्रो भएको र दुःख अनगिन्ती रहेको उनले बताए। आफूले पालेको भेडाबाख्रा बिक्री गरेर वार्षिक डेढ लाखजति आम्दानी हुने गरेको छ, तर बाघभालुले नोक्सान गर्याे भने त्यही पनि नहुने उनको भनाइ छ। उनले यही गोठाला गरेर श्रीमती, दुईवटा छोरी र एक छोराको जीवन चलाउँदै आएका छन्।

उनले भने, ‘कान्छी छोरीको त विवाह भयो, यतिवेला कान्छी छोरीबाहेक हाम्रो जीवन यसै पेसाबाट दुःखले चलाएको छु, सुखचैनले जीवन चलाउन पाइएन। अरू पेसा पनि जानेको छैन, जे–जस्तो भए पनि यही पेसा गरिरहेको छु, यसैमा रमाउनुको विकल्प रहेन ।’

उनले भने, ‘चैत–वैशाखमा बेँसीमा घाँस सकिन्छ, लेकमा घाँस पलाउँदैन, हिउँ परिरहन्छ, घाँसको समस्या छ।’ खर्कमा एक भारी दाउरा जोहो गर्न पनि एक दिनभरि लाग्ने गरेको छ। सामुदायिक वनमा चराउनका लागि पनि दैनिक पैसा बुझाउनुपर्छ। कुनै पनि सामुदायिक वनमा अनुमतिविना भेडाबाख्रा गएमा क्षतिपूर्ति दिँदै आएको उनको भनाइ छ।

‘लेकखर्कमा भेडीगोठालाई समस्या नै समस्या भइरहेको हुन्छ। फोन लाग्दैन, फोन लाग्ने ठाउँ खोज्नुपर्छ। सामान्य दुःख बिमार हुँदा जंगलकै जडीबुटी खाएर बस्छौँ, तर ठुलो बिरामी भएर वा कुनै घटना घट्दा बेँसीसम्म आउन १० दिन लाग्छ,’ उनले भने।

भेडीगोठ लोप हुन नदिन र गोठालाहरूका लागि विभिन्न कार्यक्रम गर्दै आए पनि हाल पर्याप्त बजेट नभएकाले सबै समस्याको हल हुन नसके पनि आगामी वर्षहरूमा सम्बोधन गर्दै जाने दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताए। रासस

सुझावित समाचार