चालू आर्थिक वर्षको ६ महिनामा वीरगन्ज नाकाबाट ८७ अर्ब ३२ करोड ३९ लाख ४० हजारबराबरको डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ), मट्टीतेल आयात हुँदा ३६ अर्ब ९६ करोड ३६ लाख २४ हजार राजस्व संकलन भएको छ ।
गत आवको सोही अवधिको तुलनामा चालू आवको ६ महिनामा पेट्रोलियम पदार्थ आयातबाट चार अर्ब बढी राजस्व संकलन भएको छ । चालू आवको ६ महिनामा ४२ अर्ब २४ करोडबराबरको चार लाख ७९ हजार ७९९ किलोलिटर डिजेल आयातबाट १८ अर्ब ९८ करोड राजस्व संकलन भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।
चालू आवको ६ महिनामा दुई लाख २० हजार ३८५ किलोलिटर आयात भएको पेट्रोलबाट १२ अर्ब ४७ करोड राजस्व दाखिला भएको छ । चालू आवको ६ महिनामा आठ अर्ब नौ करोडबराबरको ८९ हजार तीन सय ८० किलोलिटर (एटिएफ) आयातबाट एक अर्ब एक करोड तथा ३६ करोड २० लाखबराबरको चार हजार २० किलोलिटर मट्टीतेल आयातबाट १० करोड राजस्व संकलन भएको छ।
आव ०८०/८१ को ६ महिनामा ८८ अर्ब ७८ करोडबराबरका पाँच थरीका पेट्रोलियम पदार्थ आयात भएको थियो । गत आवको सोही अवधिमा पेट्रोलियम पदार्थको आयातबाट ३२ अर्ब ९५ करोड ४१ लख ४६ हजार राजस्व संकलन भएकाे थियो।