एभरेस्टबाहेक १९ वाणिज्य बैंकको खराब कर्जा बढेको छ भने वितरणयोग्य मुनाफा ऋणात्मक छ । जसकारण ६ महिनामा बैंकहरूले कुल २७ अर्ब ४३ करोड ६९ लाख नाफा गरे पनि वितरणयोग्य मुनाफा तीन अर्ब ७९ करोड ऋणात्मक छ ।
समग्र नाफादर गत वर्षको तुलनामा ४.६२ प्रतिशतले घटेको छ । प्राइम, कृषि, स्ट्यान्डर्ड चार्टर्ड, सिद्धार्थ, कुमारी, नेपाल बैंक, एनआइसी एसिया, सिटिजन्स र राष्ट्रिय वाणिज्य बैंकको नाफादर गत वर्षको तुलनामा घटेको छ ।
सबैभन्दा बढी एनआइसी एसियाको नाफामा ९२.०३ प्रतिशतले गिरावट आएको छ । अघिल्लो आव ०८०/८१ को ६ महिनामा एनआइसी एसियाले एक अर्ब ९० करोड ३८ लाख सात हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
यो वर्ष नाफादरमा ठुलो गिरावट आएसँगै एनआइसीले सेयरधनीलाई लाभांश वितरण गर्न नसक्ने घोषणा गरिसकेको छ । गत वर्षको तुलनामा प्रभु बैंकको नाफादर धेरै देखिएको छ ।
प्रभुले गत आवको ६ महिनामा ७२ करोड तीन लाख ४१ हजार कमाएकोमा यस वर्ष ८५.४९ प्रतिशतले सुधार गरेको छ । त्यस्तै, इनभेष्टमेन्ट मेगाको ५७.१८ प्रतिशत, ग्लोबल आइएमईको ४९.५१ प्रतिशत र एनएमबिको ४५.६१ प्रतिशत नाफा बढेको छ । १.२९ प्रतिशतको झिनो सुधार भए पनि नबिल सबैभन्दा बढी नाफा गर्ने बैंकको सूचीमा पहिलो स्थानमै छ ।