गृहप्रदेशमा आफ्नो अभियानप्रति समर्थन खोज्दै रावल

सोमबार, ७ माघ, २०८१
डिजिटल संस्करण

नेकपा एमालेले निष्कासन गरेपछि मातृभूमि जागरण अभियान घोषणा गरेका भीम रावल आफ्नो अभियानमा समर्थन जुटाउन गृहप्रदेश सुदूरपश्चिम आइपुगेका छन्। गृहजिल्ला अछाममा रहेका उनले सार्वजनिक कार्यक्रम तथा भेटघाटमार्फत आफ्नो अभियानलाई सहयोग गर्न र जोडिन अपिल गरिरहेका छन्।

शुक्रबार बिहान धनगढी विमानस्थलमा उत्रिँदा रावललाई ठुलो संख्यामा उपस्थित समर्थकले स्वागत गरेका थिए। विमानस्थलमा समर्थकले उनको पक्षमा र प्रधानमन्त्री केपी ओलीको विरुद्धमा नाराबाजी गरे। विमानस्थलबाट र्यालीसहित धनगढी चौराहा र अत्तरिया पुगेका रावलले अत्तरियामा समर्थकको भेलालाई सम्बोधन गरे।

त्यसअघि धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले देशव्यापी छलफलपछि अभियानलाई पार्टीको रूप दिइने धारणा राखेका थिए। ‘जनसमुदायको समर्थन आधारमा यो देशको एउटा सशक्त शक्ति निर्माण गरेर भ्रष्टाचारी र देशद्रोहीलाई बढार्छौँ,’ शुक्रबार नै अत्तरियामा समर्थकको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘प्रारम्भमा तपाईंहरूको साथ समर्थनले उत्साह दिएको छ।’

कोणसभालाई सम्बोधन गरेपछि गृहजिल्ला अछाम जाने क्रममा डोटीको सिलगढी बसेका रावलले त्यहाँ समर्थकसँग भेटघाट तथा आफ्नो अभियानबारे छलफल गरे। उनी तीन दिनदेखि गृहजिल्ला अछाममा सार्वजनिक कार्यक्रम र भेटघाटमार्फत आफ्नो अभियानमा समर्थन जुटाउने प्रयासमा छन्। गृहनगर साँफेमा आइतबार बिहान समर्थकले मोटरसाइकल र्यालीसहित रावलको स्वागत गरेका थिए। 

साँफेबगरमा समर्थकलाई सम्बोधन गर्दै उनले देशभित्र मात्र नभएर देशबाहिरबाट पनि आफूलाई समर्थन मिलिरहेको भन्दै समर्थकलाई उत्साहित बनाउने कोसिस गरे। त्यस क्रममा रावलले एमाले अध्यक्ष ओलीको आलोचनासमेत गरे। ओलीमा सत्ताको उन्माद देखिएको आरोप रावलले लगाए।

‘३९ वर्ष पार्टी सदस्य भएको व्यक्तिलाई निकालेर, ५१ वर्ष पहिले उठाएको देश र जनताको झन्डा च्यात्न खोज्दा मलाई दुःख लागेको छ। तर, हामीले दुःखलाई शक्तिमा परिणत गरेर अत्याचारविरुद्ध शंखघोष गर्नुपर्नेछ,’ रावलले भने, ‘त्यसका लागि तपाईंहरू दृढतापूर्वक अगाडि बढ्नोस्। तपाईंहरू साथ दिनोस् म नेतृत्व गर्छु।’  

रावलले आइतबार नै रामारोशन गाउँपालिकामा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन गरेका थिए। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले विभेदविरुद्ध लड्न आह्वान गरे। जनताको शिर निहुराउने काम आफूले नगरेको भन्दै उनले देश परिवर्तनका लागि थालिएको आफ्नो मातृभूमि जागरण अभियानलाई साथ दिन आग्रह गरे।

अछाममा रावल सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुनुका साथै भेटघाट र छलफलमार्फत आफ्नो अभियानबारे जानकारी दिएर समर्थन खोजिरहेका छन्। ‘सर्वसाधारण र सबै पार्टीका नेताकार्यकर्ता भेटघाट गर्न आइरहनुभएको छ,’ रावलका सचिवालय सदस्य गोविन्द दुवालले भने, ‘भेटघाट गर्न आउनेको भिडले निर्धारित सार्वजनिक कार्यक्रमहरू सरिरहेका छन्।’ आइतबार उनी साँफेमा आयोजित भलिबल प्रतियोगिताको समापन समारोहमा सहभागी भएका थिए।

भेटघाटका क्रममा रावलले अभियानलाई बिस्तारै पार्टीको रूप दिइने बताउने गरेका छन्। समर्थकहरूबाट तत्काल पार्टी खोल्नुपर्ने सुझावहरू आइरहेकाे दुवालले बताए। अछाममा एमालेको ठुलो पंक्ति रावलको समर्थनमा देखिएको उनले दाबी गरे। धनगढी विमानस्थलमा पनि रावलको स्वागतमा एमाले र एकीकृत समाजवादीका कार्यकर्ता तथा समर्थक धेरै थिए। विगतमा सुदूरपश्चिममा रावलको बलियो पकड थियो। रावलकै कारण नेकपा विभाजनका बेला सुदूरपश्चिम प्रदेश सभाका बहुमत सदस्य नेकपामै रहेका थिए।  

रावलको पक्षमा खुल्दै एमाले नेताहरू
सुदूरपश्चिममा नेकपा एमालेका नेताहरू रावलका पक्षमा खुल्न थालेका छन्। प्रदेशका पूर्वमन्त्री कृष्णराज सुवेदी र एमाले कैलाली जिल्ला कमिटी सदस्य भीष्मराज सुवेदी रावललाई स्वागत गर्न धनगढी विमानस्थलमै पुगेका थिए। जसले गर्दा उनीहरू दुवैजनालाई एमालेले सदस्यबाट हटाउने प्रक्रिया अगाडि बढाएको छ।

त्यस्तै, रावलको पक्षमा अछाममा पनि एमाले नेताहरू खुल्न थालेका छन्। एमालेका ५९ जना नेता–कार्यकर्ताले भीम रावलको अभियानलाई सहयोग गर्ने घोषणा गरेका छन्। उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै रावलले सञ्चालन गरेको मातृभूमि जागरण अभियानलाई समर्थन गर्दै एमाले छोडेको जनाएका छन्।

एमाले केन्द्रीय पर्यटन विभाग सदस्य रमेशबहादुर कुँवर, सुदूरपश्चिम प्रदेश सल्लाहकार हर्कबहादुर कुँवर, जिल्ला कमिटीका संगठन विभाग प्रमुख प्रकाश शाहलगायतका नेताहरू रावलको पक्षमा उभिएका हुन्।  पाँचजना सुदूरपश्चिम प्रदेश कमिटी सदस्य, चारजना प्रदेश कमिटी सल्लाहकार, सातजना जिल्ला कमिटी सचिवालय सदस्य, १८ जना जिल्ला कमिटी सदस्य, १३ जना जिल्ला कमिटी सल्लाहकारलगायत एमाले छोड्दै रावलको पक्षमा उभिएका छन्। नेताहरू रावलको पक्षमा खुल्न थालेपछि एमाले अछाममा उलटपुलट भएको छ।

सुझावित समाचार