१. सार्वजनिक ऋण लगातार बढ्दै जानुको कारण के होला ?
हाम्रो बजेटको आकार बढ्यो । चालू खर्चको अनुपातमा पुँजीगत खर्च बढ्न सकेन । संघीयतापछि चालू खर्चको आधार बढ्यो, तर त्यसले आम्दानी दिन सकेन । सामाजिक सुरक्षा, निवृत्तिभरणलगायत खर्च बढिरहेको छ । पुँजीगत खर्च बढ्न नसकेपछि राजस्व पनि कम उठ्यो । वैदेशिक सहायतामा अनुदान लिनसकेको भए अलि सहज हुने थियो । तर, बजेटले अनुमान गरेको वैदेशिक सहायता आएन । चालू खर्चका लागि वैदेशिक सहायता आउँदैन । अनि, आन्तरिक ऋण लिनुको विकल्प भएन । आन्तरिक ऋणको ब्याज बढी हुन्छ र तिर्ने समय छोटो हुन्छ । अहिले आन्तरिक र बाह्य ऋणको अंक लगभग समान हुन लागेको छ । यसले गर्दा हाम्रो ऋण लगातार बढ्दै गएको हो ।
२. पुँजीगत खर्चभन्दा साँवाब्याज भुक्तानीमा तीन गुणा बढी खर्च हुनुले के संकेत गर्छ ?
यसले हामी ऋणको पासोमा फस्दै गएको संकेत गरेको छ । एकातिर ऋण बढ्ने र अर्कातिर पुँजीगत खर्च नबढ्ने अवस्था छ । वर्षमा साढे चार खर्बजति बजेट त साँवाब्याज भुक्तानीमै खर्च भइरहेको छ । प्रदेश र स्थानीय तहलाई पनि लगभग त्यसैको हाराहारीमा बजेट जान्छ । यसले गर्दा हाम्रो पुँजीगत खर्च साँघुरिँदै गएको छ ।
३. यस्तो अवस्थाले समग्र अर्थतन्त्रमा कस्तो प्रभाव पार्ला ?
पुँजीगत खर्च घटेपछि निजी क्षेत्रको लगानी घट्छ । यसबाट आर्थिक वृद्धिदर घट्छ । यसको प्रभावमा दिगो विकासको लक्ष्यमा धक्का लाग्नेछ । साथै, मध्यम आयको राष्ट्रमा पुग्न पनि कठिन हुन्छ । विकासको क्षमता कमजोर हुन्छ । युवाको विदेश पलायनदर बढ्छ र अर्थतन्त्र परनिर्भर र निम्छरो बन्छ ।