सुप्रिम सहकारीमा २२ विरुद्ध पूरक मुद्दा, ५५ करोड २२ लाख बिगो मागदाबी

सोमबार, ७ माघ, २०८१
डिजिटल संस्करण

बुटवलको सुप्रिम सहकारी ठगीमा आइतबार १४ नयाँ र आठ यसअघि मुद्दा चलेकासहित २२ जनाविरुद्ध पूरक मुद्दा दायर भएको छ । इलाका प्रहरी कार्यालय बुटवलको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालय रुपन्देहीले जिल्ला अदालतमा सहकारी ठगी र संगठित अपराध कसुरमा अभियोगपत्र दायर गरेको हो । २२ प्रतिवादीसँग ५५ करोड २२ लाख बिगो मागदाबी गरिएकोे छ ।

यसअघि नै मुद्दा चलेका सहकारीका पूर्वअध्यक्ष एवं संरक्षकसमेत रहेका गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जिबी राईसहित आठजना र रास्वपा सभापति रवि लामिछाने र पूर्वडिआइजी छविलाल जोशीसहित १४ जना नयाँ प्रतिवादी छन् । सहकारी ठगीको मूल मुद्दा (३ वैशाखमा)मा २८ जनालाई प्रतिवादी बनाइएकामा बिहीबार मात्र तीमध्ये १७ जनालाई (दिनेश रोकालाई सम्पत्ति शुद्धीकरणमा पनि) मुद्दा चलाइएको थियो ।

तर, आइतबार मूल मुद्दाका आठ र १४ नयाँलाई मुद्दा चलाइएको रुपन्देहीका जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले बताए । पूरक मुद्दामा अनन्तबाबु राई, छविलाल जोशी, रवि लामिछाने, लक्ष्मीप्रसाद पौडेल, विशाल तामाड, दीपक लामा, भगवती बमजन, विज्ञान राई, शिवप्रसाद पौडेल, वीरबहादुर रानाभाट, रविना रिमाल, श्रीबल्लभ नेपाल, नरेश जिसी र शिवबहादुर गुरुड प्रतिवादी छन् । उनीहरूविरुद्ध सहकारी ठगी र संगठित अपराध कसुर लगाइएको छ ।

त्यस्तै, जिल्ला सरकारी वकिलको कार्यालयले सुप्रिम सहकारी ठगी प्रकरणमा सहकारीका पूर्वअध्यक्ष जिबी राईसहित आठजनाविरुद्ध सहकारी ठगीमा तेहेरो र संगठित अपराधमा दोहोरो मुद्दा चलाएको छ । ३ वैशाखमा २८ जनाविरुद्ध सहकारी ठगीमा मात्र मुद्दा चलाएकामा गत बिहीबार मात्र तीमध्ये १७ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराधमा मुद्दा चलाइएको थियो ।

तर, आइतबार जिबीसहित मूल र पूरक कसुरका आठजनाविरुद्ध पनि पूरक मुद्दा चलाउँदा सहकारी ठगी र संगठित अपराधको अभियोग लगाइएको छ । यसरी एउटै कसुरमा दोहोेरो, तेहेरो मुद्दा चल्नेमा जिबीसहित देवेन्द्रबाबु राई, कुमार रम्तेल, सागर केसी, नवीन अछामी, हेमन्त अधिकारी, असरफ अलि सिद्धिकी र भूपेन्द्र राई छन् ।

जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलका अनुसार सहकारी ठगीको मूल मुद्दामा सहकारीका विभिन्न पदमा रही ठगी गरेको आरोपमा मुद्दा चलाइएको थियो । तर, उनीहरूले विभिन्न कम्पनीमा रकम, ऋण लगेर सहकारी ठगी गरेको कसुरमा अहिले फेरि मुद्दा चलाइएको हो । जिबीले सुप्रिम सहकारीको पैसा गोर्खा मिडिया नेटवर्कसहित ११ कम्पनीमा लगेर अपचलन गरेको अभियोग छ ।

मूल मुद्दाका २८ प्रतिवादीमध्ये १७ लाई थप कसुर
सुप्रिम सहकारीको बचत अपचलनमा नौ महिनाअघि ठगीसम्बन्धी मुद्दा दायर गरिएका २८ मध्ये १७ जनाविरुद्ध गत बिहीबार संगठित अपराधको कसुर लगाएर मुद्दा चलाइएको थियो । जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले सुप्रिम सहकारीका पूर्वअध्यक्ष एवं संरक्षक जिबी राई, अध्यक्ष ओमप्रकाश गुरुङ, देवेन्द्रबाबु राई, कुमार रम्तेल, सागर केसी, नवीन अछामी , हेमन्त अधिकारी, असरफ अलि सिद्धिकी, भूपेन्द्र राई, राजु बराल,  सुरज श्रेष्ठ, धीरजकुमार दास, बुद्धि गुरुड, आशिष आनन्द, मजहर मोहमद र दीपेशकुमार पुन छन् । दिनेश रोकाविरुद्ध भने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाइएको छ । यी १७ विरुद्ध बिहीबार मुद्दा चले पनि नाम सार्वजनिक गरिएको थिएन ।

यसअघि गत ३ वैशाखमा एक अर्ब दुई करोड रुपैयाँको मागदाबी गरेर सहकारीका अध्यक्ष जिबी राईसहित २८ जनाविरुद्ध ठगीको मुद्दा दर्ता भएको थियो, जसको सुनुवाइ हाल जिल्ला अदालत रुपन्देहीमा जारी छ ।

अध्यक्ष ओमप्रकाश गुरुङ गत वैशाखदेखि पुर्पक्षका लागि जिल्ला कारागार रुपन्देहीमा छन् । सहकारीका पूर्वसचिव दीपेश पुन, नवीन अछामी, दुर्गा चापागाईं पाण्डे, दीपक न्यौपाने, नीता गुरुङ र रोशनी गुरुङ धरौटीमा रिहा भइसकेका छन् । पूर्वअध्यक्ष एवं संरक्षक जिबी राईसहित अन्य केही आरोपी अझै फरार छन् ।

सुझावित समाचार