संयुक्त राज्य अमेरिकामा सोमबारदेखि रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पले राष्ट्रपतिको रूपमा नेतृत्व सम्हाल्दै गर्दा विश्वले नै यसलाई चासोका साथ हेरिरहेको छ । ट्रम्पले अमेरिकामा एक सय वर्षभन्दा लामो समयदेखि कार्यान्वयनमा रहेका कतिपय कानुनहरू केही दिनमै कार्यकारी आदेशमार्फत संशोधन गर्न सक्ने सञ्चारमाध्यमहरूले जनाएका छन्।
सबैभन्दा ठुलो चासो आप्रवासीहरूलाई छ । आफूले कार्यभार सम्हालेकै दिनमा ‘अमेरिकी इतिहासमै अवैध आप्रवासीको ठुलो निष्कासन’ गर्ने घोषणा ट्रम्पले गरेका थिए । मुख्यगरी यही एजेन्डनमा उनले चुनाव जितेको विश्वास गरिएको छ । जसकारण उनको शासन सुरु भएलगत्तै अवैध आप्रवासीमाथि धरपकड हुने सम्भावना छ ।
ट्रम्पको नेतृत्वसँगै अमेरिकाको अध्यागमन तथा सीमा नीति, वातावरण, ऊर्जा तथा क्रिप्टोकरेन्सी सम्बन्धमा कार्यकारी आदेशमार्फत केही दिनमै महत्त्वपूर्ण संशोधनहरू हुन सक्ने बताइएको छ ।
मेक्सिकोबाट अवैध रूपमा अमेरिकामा प्रवेश गरेर त्यहाँ ‘असाइलम’को मुद्दा लडिरहेका ७० हजारलाई मेक्सिकोमै फर्काउने उनको तयारी छ ।
अर्काे सर्वाधिक चासोको विषय जन्मजात नागरिकताको पुरानो कानुन पनि संशोधनको सम्भावना छ । हाल अमेरिकामा जन्मिएका व्यक्ति स्वतः अमेरिकी नागरिक हुने कानुनी प्रावधान छ । यो अमेरिकाको १५० वर्ष लामो संवैधानिक प्रावधान छ । यसलाई ट्रम्पले खारेज गर्ने सम्भावना रहेको बिबिसीले जनाएको छ ।
स्वास्थ्य जोखिमको कारण देखाएर दक्षिणी सीमा बन्द गर्ने तथा सीमामा पर्खाल लगाउने योजना बनाएका छन् ।
त्यस्तै, आइतबारदेखि बन्द भएको टिकटकको विषयमा पनि कार्यकारी आदेशमार्फत उनले केही महिना सो निर्णय कार्यान्वयनमा स्थगन गराउने बताइएको छ ।
ट्रम्पले अमेरिकाको ४७औँ राष्ट्रपतिको रूपमा सोमबार शपथ लिँदै छन्। अमेरिकामा ट्रम्पको पुनरागमनसँगै अमेरिकाको विश्वनीति पनि फेरिन सक्ने भएकाले धेरै देशले उनको पुनरागमनलाई चासोसाथ हेरिरहेका छन्।