राजनीतिक अस्थिरता अन्त्य गर्न ठुला दुई दल मिल्नुपर्‍यो : पोखरेल

आइतबार, ६ माघ, २०८१
डिजिटल संस्करण

एमालेका महासचिव शंकर पोखरेलले देशमा राजनीतिक अस्थिरता अन्त्य गर्न दुई ठुला राजनीतिक दल सहकार्य र समीकरण गरी मिलेर अगाडि बढेको बताएका छन्। एमाले जिल्ला कमिटी धनकुटाले आइतबार आयोजना गरेको जराकेन्द्रित जिल्लास्तरीय अभिमुखीकरण कार्यक्रमका क्रममा धनकुटा आइपुगेका महासचिव पोखरेलले यस्तो बताएका हुन्।

कार्यक्रममा महासचिव पोखरेलले पछिल्लो समय साना दलहरूले ठुला दलमाथि शासन र हस्तक्षेप गर्ने परिपाटी बढेका कारण त्यसको अन्त्यका लागि पनि एमाले र कांग्रेस मिल्नुपरेको बताए। ०८४ सालको निर्वाचनपछि साना दलको प्रभाव अन्त्य गर्न पनि एमाले–कांग्रेस मिलेको, तर निर्वाचनमा भने एमाले एक्लै लड्ने उनले स्पष्ट पारे।

कार्यक्रममा उनले सामाजिक सञ्जाल गलत मान्छेको हातमा परेकाले एमालेमाथि भ्रम फैलाएको र नेपाललाई कमजोर बनाउन विभिन्न क्षेत्रबाट प्रहार भइरहेको बताए। उनले यस्ता क्रियाकलापको प्रतिवाद गर्न कार्यकर्तालाई निर्देशन पनि दिए।

उनले सिपी मैनालीले पार्टी छोड्दा, मदन भण्डारीको हत्या हुँदा, ०५४ सालमा राष्ट्रपक्षीय महाकाली सन्धिविरुद्धमा भ्रम फैलाएर पार्टी फुट्दासमेत कमजोर नभएको एमाले अब कमजोर नहुनेसमेत जिकिर गरे।

कार्यक्रममा महासचिव पोखरेलसहित पार्टीका स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश इन्चार्ज शेरधन राई, स्थायी कमिटी सदस्य एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र एमाले केन्द्रीय सदस्य एवं पूर्वमन्त्री राजेन्द्रकुमार राईलगायतले पार्टीको जरा केन्द्रीय अभियान सफल बनाउन सबै कार्यकर्ताहरूलाई लाग्न आग्रह गरे।
 

सुझावित समाचार