दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई थप २० दिनसम्म हिरासतमा राख्ने वा नराख्ने पक्राउ पुर्जीसम्बन्धी सुनुवाइमा सहभागी भएका छन्। उइवाङस्थित सियोल डिटेन्सन सेन्टरबाट छुटेका राष्ट्रपतिलाई लिएर गएका गाडीहरू हिरासतबाट करिब २० किलोमिटर उत्तरमा रहेको सियोल वेस्टर्न डिस्ट्रिक्ट कोर्टमा आइपुगेको टिभी फुटेजले देखाएको छ।
युनलाई बुधबार राष्ट्रपतिनिवासबाट पक्राउ गरिएको थियो र उहाँ पक्राउ पर्ने देशको पहिलो बहालवाला राष्ट्रपति बनेका थिए। महाभियोगपछि निलम्बित राष्ट्रपति युनले घोषणा गरेको अल्पकालीन सैनिक शासन का विषयमा सोधपुछका लागि बयान दिन सियोलको दक्षिणमा रहेको ग्वाचेओनमा रहेको भ्रष्टाचार अनुसन्धान कार्यालय (सिआइओ) मा उपस्थित हुन अस्वीकार गरेका थिए।
यदि वारेन्ट जारी भएमा युनको हिरासत अवधिसहित २० दिनसम्म लम्बिनेछ। प्रारम्भिक १० दिनसम्म सिआइओले सोधपुछ गरेपछि युनलाई अभियोजन पक्षले पछिल्लो १० दिनसम्म सोधपुछ गर्नेछ किनभने दुवै पक्षले संयुक्त रूपमा युनको विद्रोहको आरोपको अनुसन्धान गर्न सहमत भएका छन्।
गत वर्षको डिसेम्बर १४ मा नेसनल एसेम्बलीमा युनविरुद्ध महाभियोग प्रस्ताव पारित भएको थियो र यसलाई संवैधानिक अदालतमा १८० दिनसम्म छलफलका लागि पठाइएको थियो। विद्रोहको अभियोगमा अनुसन्धान निकायहरूले योजनाकारको रूपमा उल्लेख गरेका युनले डिसेम्बर ३ को राति ‘मार्शल ल’ (सैनिक कानुन) लागू गरिएको घोषणा गरेको थियो। त्यसको केही घण्टापछि कोरियाली संसद् (नेसनल एसेम्ली) ले त्यसलाई खारेज गरेको थियो। रासस