प्रधानमन्त्री केपी ओलीले आगामी १५–२० दिनभित्रै राष्ट्रपतिबाट जारी गरिएका अध्यादेशहरूलाई संसद्को हिउँदे अधिवेशनमा पेस गर्ने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान)को रजतजयन्तीका अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अधिवेशन बोलाउने जनाउ दिए ।
‘जनतालाई सेवा दिन र व्यवसायीलाई सकारात्मक सहयोग गर्न हामीले अध्यादेश ल्याएका हौँ । कतिपयले अध्यादेशले शासन गर्न खोज्यो भनेर विरोध गर्न खोजेका छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘१५–२० दिनभित्र संसद् आइसक्छ, त्यहाँ पेस गर्छौँ, छलफल गर्छौँ र अगाडि बढाउँछौँ । हामी दुई महिनाभित्र टुंगो लगाइसक्छौँ । महŒवपूर्ण कुरालाई दुई महिना कुर्न सक्दैनौँ । काम गर्न कानुन फेरेरै अगाडि बढ्छौँ ।’
सम्मान दिए माधव नेपाल एमालेमा आउँछन्, तर उनका लागि ढोका बन्द छ : एमाले महासचिव
एमाले महासचिव शंकर पोखरेलले सम्मान दिए नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल एमालेमै फर्कने दाबी गरेका छन् । तर, पार्टी विभाजनका नायक रहेकाले उनलाई पार्टी प्रवेशमा ढोका नखोलिएको उनको दाबी छ । पोखरेलले माधव पार्टी विभाजन गर्ने षड्यन्त्रको नायक भएकाले उनीबाहेक सबैलाई एमालेले समाहित गर्न ढोका खुला राखेको सुनाए ।
‘माधव नेपालका लागि ढोका खोलिएको छैन । सम्मान दियो भने उहाँ नै आउनुहुन्छ । उहाँले गल्ती गर्नुभएको छ । उहाँ दुर्घटनाको नायक हो,’ शुक्रबार आयोजित प्रेस चौतारीको कार्यक्रममा पोखरेलले भने, ‘उहाँलाई सम्मान दिने पक्षमा एमाले छैन । साथमा लाग्नेहरू उहाँजत्तिकै गल्तीको जिम्मेवार छैनन् । अरू बाँकीलाई स्वागत गर्छौँ, गरेका छौँ । तर, उहाँलाई सम्मान गर्ने पक्षमा एमाले छैन ।’
उनले दल विभाजनसम्बन्धी अध्यादेशको अनावश्यक त्रास हेर्दा एकीकृत समाजवादी पार्टी चल्न सक्ने अवस्थामै नरहेको पुष्टि भएको बताए । नेकपा एसका नेताहरूमा दल विभाजनसम्बन्धी अध्यादेशको अनावश्यक त्रास देखिएको र त्यस्तो मनोविज्ञानले त्यो पार्टी चल्ने अवस्थामै नरहेको कुरा पुष्टि गरेको पोखरेलको भनाइ छ ।
‘समाजवादी पार्टीका नेताहरूमा दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने छलफल त होइन भन्ने अनावश्यक त्रास देखियो । अध्यादेशको त्रास किन छ भन्दा त्यो पार्टी चल्ने अवस्थामै छैन,’ उनले भने, ‘चुनाव घोषणा भएपछि नचल्ने पार्टीका पछाडि मान्छे बस्दैन । यति कुरा त बुझ्नुपर्छ नि ।’ महासचिव पोखरेलले अध्यादेशमा चलखेल गरेर सरकार ढाल्न खोज्नेहरू कांग्रेस सभापति शेरबहादुर देउवाको स्पष्ट अडानका कारण हतोत्साही बनेको टिप्पणी पनि गरे ।
‘पाँचवटा अध्यादेश जारी गरेर हामीले हिँड्न खोजेको बाटोबारे स्पष्ट सन्देश दिएका छौँ । कतिलाई अध्यादेशमा भाँजो हाल्न सकिन्छ कि भन्ने लागेको थियो । तर, प्रधानमन्त्रीभन्दा अगाडि बढेर अध्यादेशका पक्षमा कांग्रेस सभापति खडा भएपछि चलखेल गर्नेहरू हतोत्साही भएका छन्,’ उनले भने ।