फलाम खानी र मल कारखाना खुल्दै छ, ऊर्जा खपतको चिन्ता गर्नुपर्दैन : प्रधानमन्त्री

शुक्रबार, ४ माघ, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीले स्वदेशमै फलाम खानी र मल कारखानासहित ठुला उद्योगको स्थापना हुने क्रममा रहेको र बन्द भएका उद्योगलाई नयाँ ढाँचामा सञ्चालनको तयारी भएकाले ऊर्जा खपतको चिन्त लिनु नपर्ने बताएका छन्।

स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान)को रजतजयन्तीका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले ऊर्जाले खपतका ठाउँहरू आफैँ बनाउने भएकाले ऊर्जा बिक्रीको चिन्ता गर्न नपर्ने बताए। सरकारले आगामी ११ वर्षभित्र २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादनको मार्गचित्र तयार गरेको छ।

‘हामीसँग आठवटा औद्योगिक क्षेत्रहरू छन्। धौबादी फलाम खानी र मल कारखाना खोल्दै छौँ। दैलेखमा ग्यास उत्पादन हुँदै छ। ध्वस्त भएको उद्योगहरूले पुनर्जीवन पाउँदै छन्। ती सबैमा ऊर्जा खपत हुनेछ,’ प्रधानमन्त्री ओलीले भने, ‘ग्रिन हाइड्रोजन इनर्जी उत्पादन गर्न पनि अनुसन्धान भइरहेको छ।’

प्रधानमन्त्री ओलीले ऊर्जा क्षेत्रमा सरकारको लगानीका साथै निजी क्षेत्र र वैदेशिक क्षेत्रको लगानीलाई पनि उत्तिकै महत्त्व दिएको जनाउँदै ‘व्यवस्था बदलियो अवस्था बदलिएन’ भन्नेहरूलाई उत्पादकहरूले सफलताका कथा देखाएर अवस्थामा परिवर्तन ल्याएको स्पष्ट गरे।

सरकारले जनतालाई सेवा दिन र विकासको गति दिन विभिन्न कानुनमा संशोधनका लागि अध्यादेश ल्याएको दाबी गर्दै उनले आगामी १५ दिनपछि हुने संसद्को अधिवेशनमा पेस गरी दुई महिनाभित्र पारित गर्ने जनाए।

सुझावित समाचार