उत्तर-दक्षिण लोकमार्गको लामाबगर नाका खोल्न २० करोड बजेट सुनिश्चित

शुक्रबार, ४ माघ, २०८१
डिजिटल संस्करण

तीन देश जोड्ने सबैभन्दा छोटो दूरीको लामाबगर नाका खोल्न २० करोड बजेट 

सरकारले भारत र चीन जोड्ने सबैभन्दा छोटो दूरीको उत्तर–दक्षिण लोकमार्गको लामाबगर नाका  खोल्न २० करोड बजेट स्रोत सुनिश्चित गरेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले भिट्टामोड–जलेश्वर–बर्दीबास–खुर्कोट–तामाकोशी–सिँगटी–लामाबगर–लाप्चे सडकको लामाबगर नाका खोल्न २० करोड बजेट व्यवस्थापन गरेको हो ।

हालसम्म सञ्चालनमा आएका तीन देश जोड्ने सडकमध्ये यो लोकमार्ग सबैभन्दा छोटो दूरीको रहेको सडक विभागका अधिकारीहरू बताउँछन् । उनीहरूका अनुसार महोत्तरीको भिट्टामोडदेखि दोलखाको लामाबगर हुँदै चीनको याङ्लुङसम्मको जम्मा दूरी २४८ किलोमिटर मात्रै छ ।

महोत्तरीको भिट्टामोडदेखि दोलखाको सिँगटीसम्म यसअघि नै कालोपत्रे भइसकेको उक्त लोकमार्गको सिँगटीदेखि लामाबगरखण्ड भने ग्राभेलस्तरको छ । महोत्तरीको भिट्टामोडदेखि चीनको बोर्डर  याङ्लुङसम्मको २४८ किलोमिटरमध्ये २३६ किलोमिटर सडक अहिले पनि सञ्चालनमा छ ।

दोलखाको लामाबगरदेखि चीनको सिमाना याङ्लुङसम्म बाँकी १२ किलोमिटर सडकमध्ये लाप्चे र लुम्नाङ क्षेत्रमा निर्माण हुने दुईवटा जलविद्युत् आयोजनाले झन्डै सात किलोमिटर सडक निर्माण गरिसकेका छन् । चीनसम्म जोडिन अब पाँच किलोमिटर मात्रै ट्रयाक खुल्न बाँकी छ । 

डिभिजन सडक कार्यालय चरिकोटका डिभिजन प्रमुख अमितकुमार श्रेष्ठले उक्त बजेटको पहिलो प्राथमिकता नाकासम्म सडक खुलाउने र बाँकी बजेट मर्मत, स्तरोन्नति तथा सम्भव भएसम्म कालोपत्रे गर्नुपर्ने निर्देशन प्राप्त भएको बताए । उनले आवश्यक प्रक्रिया पूरा गरी छिटोभन्दा छिटो  ठेक्का प्रक्रियामा लैजान कार्यालय सक्रिय हुने जानकारी दिए ।

नेपालकै सबैभन्दा छोटो दूरीको तीन देश जोड्ने लोकमार्ग निर्माणका लागि आफूहरू लामो समयदेखि लागिपरेको बताउँदै नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले अब भने बहुवर्षीय ठेक्का लगाउन २० करोड रुपैयाँको स्रोत सुनिश्चित भएको बताए ।  सिवाकोटीले उक्त सडक निर्माण भएसँगै नाका खुल्ने र त्रिदेशीय सडक सञ्चालनमा आउँदा दोलखासहित मध्यपहाड र तराईका क्षेत्रमा राम्रो प्रभाव पर्ने बताए। 

अर्थ मन्त्रालयले चालू आर्थिक वर्षमा झन्डै सात  किलोमिटर ट्रयाक खोल्न र बाँकी बजेटले सडकको स्तरोन्नति गर्न बहुवर्षीय ठेक्का लगाउन बजेटको स्रोत सुनिश्चितता गरेको हो। डिभिजन सडक कार्यालयका प्रमुख अमितकुमार श्रेष्ठले चालू आवको वैशाखभित्रै ठेक्का सम्झौता गर्ने लक्ष्यसहित ठेक्का आह्वानको तयारी गरिएको जानकारी दिए ।

भारत र चीनलाई जोड्ने २४८ किलोमिटर दूरीको उत्तर–दक्षिण लोकमार्गलाई  बागमती र मधेश प्रदेशको भाग्यरेखा मानिएको छ। सडकले पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिक स्थलको विकासका लागि महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

सुझावित समाचार