विपक्षी दलहरूको बैठक शुक्रबार बस्दै छ । प्रमुख प्रतिपक्षी दलका नेताको कार्यालय नयाँ बानेश्वरमा शुक्रबार दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको छ । बैठकले साझा एजेन्डालाई अन्तिम रूप दिने एकीकृत समाजवादीका सम्मानित नेता डा. बेदुराम भुसालले बताए ।
‘एजेन्डाका मस्यौदा तयार पारेर दलहरूलाई पठाइएको छ । शुक्रबारको बैठकले त्यसलाई अन्तिम रूप दिन्छ,’ उनले भने । अध्यादेशको विरोध, संसद् अधिवेशन आह्वानको माग, महँगी, भ्रष्टाचारलगायत विषय मस्यौदामा समेटिएका छन् । बैठकले अन्तिम रूप दिएपछि शुक्रबार नै ३ बजे संसद् भवनको ल्होत्से हलमा पत्रकार सम्मेलन गरेर एजेन्डा सार्वजनिक गर्ने तयारी छ ।
यसअघि माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार बसेको माओवादी, रास्वपा, राप्रपा, एकीकृत समाजवादी, नेसपा र आजपाको बैठकले समय घर्किंदासमेत संसद् अधिवेशन नबोलाई अध्यादेश ल्याउनु स्वेच्छाचारी भएको ठहर गरेको थियो । सरकारले संसद् छल्न खोजेको भन्दै विपक्षी दलहरूले तत्काल अधिवेशन आह्वान गर्न माग गरेका छन् ।