मुख्य प्रशिक्षक देसाईको अन्तिम असाइन्मेन्ट ‘ब्याटिङ क्लिनिक’

बिहिबार, ३ माघ, २०८१
डिजिटल संस्करण

आगामी फेब्रुअरीमा क्यानसँगको सम्झौता सकिनुअघि मुख्य प्रशिक्षक मोन्टी देसाईले यू–१९ टोली, नेपाल प्रिमियर लिग र जय ट्रफीमा राम्रो ब्याटिङ गरेका युवा खेलाडीलाई नौ दिनसम्म विशेष प्रशिक्षण दिने

मुख्य प्रशिक्षक मोन्टी देसाई र नेपाल क्रिकेट संघ (क्यान)बिचको सम्झौता आगामी फेब्रुअरीमा सकिँदै छ । क्यानले ०७९ माघमा देसाईलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो । पछिल्लो समय देसाईको प्रशिक्षणमा नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा सुखद नतिजा निकाल्न सकेको छैन । यसकारण क्यान उनीसँगको सम्झौता नवीकरण नगर्ने पक्षमा छ । सम्झौता बाँकी रहेको अवधिमा देसाईले २० युवा खेलाडीलाई नौ दिनसम्म विशेष ब्याटिङ प्रशिक्षण दिने भएका छन् । 

युवा ब्याट्सम्यानको क्षमता वृद्धिका लागि क्यानले ‘ब्याटिङ क्लिनिक’ राखेको हो । कीर्तिपुरको त्रिवि मैदान र मूलपानीमा १७ देखि २५ जनवरीसम्म युवा खेलाडी ब्याटिङ क्लिनिकमा बस्नेछन् । उनीहरूलाई देसाईले प्रशिक्षण दिने क्यानले जनाएको छ । खेलाडी छनोट कमिटीले विशेष ब्याटिङ प्रशिक्षणका लागि खेलाडी छनोट गरेको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिएका छन् । ‘क्यानको छनोट कमिटीले नै घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका युवा खेलाडीलाई समावेश गरेको हो,’ लामाले भने । 

प्रवक्ता लामाले प्रशिक्षक देसाईको ‘अन्तिम असान्इमेन्ट’ नभएको जनाए । ‘प्रशिक्षक देसाईको सम्झौता फेब्रुअरीसम्म छ, दुई पक्षबिचको छलफलले सम्झौता नवीकरण हुने वा नहुने निर्णय हुनेछ,’ उनले भने, ‘क्यानको योजनाअनुसारै खेलाडीलाई ब्याटिङ क्लिनिक राखिएको हो ।’ तर, क्यानको एक पदाधिकारीले भने देसाई अहिले खाली रहेका कारण उनको यो समय प्रयोग गर्न लागेको बताए । 

‘अहिले नेपालको कुनै पनि अन्तर्राष्ट्रिय खेल छैन, प्रशिक्षकलाई केही न केही जिम्मेवारी दिनुपर्यो, यसकारण नै ब्याटिङ क्लिनिङ राखिएको हो,’ ती पदाधिकारीले भने, ‘सम्भवतः सम्झौता सकिनुअघि देसाईको यो नै अन्तिम असाइन्मेन्ट हुन सक्छ ।’ ०७९ माघदेखि नेपाली टिमको मुख्य प्रशिक्षक मोन्टीको आगमनसँगै नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ को अन्तिम १२ मध्ये ११ खेल जित्दै चार वर्षका लागि एकदिवसीय मान्यता जोगाएको थियो । 

जुनदेखि नेपालको अन्तर्राष्ट्रिय खेल
सन् २०२५ मा नेपालको अन्तर्राष्ट्रिय खेल जुनदेखि छ । यसअघि कुनै पनि अन्तर्राष्ट्रिय खेल छैन । नेपालले सन् २०२५ मा आइसिसी विश्वकप लिग २ अन्तर्गत तीनवटा त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ । तीनमध्ये एक सिरिज नेपालमै हुनेछ । त्यसपछि दुई सिरिज बाहिर हुनेछ । नेपालले आइसिसी विश्वकप लिग २ का दुई सिरिज विदेशी भूमिमा खेल्नेछ । 

यसै वर्ष नेपालले आइसिसी विश्वकप क्रिकेट २०२६ अन्तर्गतको एसिया छनोट खेल्नेछ । यसैका साथै नेपालले तीनवटा एकदिवसीय र चार टी–२० आई गरी सात सिरिज खेल्ने तालिका छ । क्यानले यी अन्तर्राष्ट्रिय सिरिजबाहके अन्य औपचारिक प्रतियोगिता घोषणा गरेको छैन । यस वर्ष नेपालको पहिलो अन्तर्राष्ट्रिय सिरिजका रूपमा विश्वकप लिग २ मा नेदरल्यान्ड्स र स्कटल्यान्डबिच खेल हुनेछ । यो मे महिनामा स्कटल्यान्डमा हुने तय थियो । क्रिकेट स्कटल्यान्डले सिरिज २ जुनदेखि आयोजना गर्ने भएको छ । 

स्कटल्यान्डमा सिरिज खेलेपछि नेपालले युएईमा विश्वकप लिग २ को अर्को सिरिजको तयारी गर्नेछ । अक्टोबरमा युएईमा हुने सिरिजमा घरेलु टोलीसहित नेपाल र अमेरिकाबिच खेल हुनेछ । यस वर्षको विश्वकप लिग २ को अन्तिम सिरिज नेपालले आयोजना गर्नेछ । त्रिवि क्रिकेट मैदानमा नोभेम्बरमा हुने सिरिजमा नेपालले ओमान र युएईविरुद्ध प्रतिस्पर्धा गर्नेछ । अक्टोबरमै आइसिसी टी–२० विश्वकप एसिया छनोट हुनेछ । ओमानमा हुने विश्वकप छनोटमा नेपालसहित १० राष्ट्रले भाग लिनेछन् । 

पछिल्ला १२ मध्ये आठ खेलमा हार 
सम्झौताको पहिलो वर्षमा मुख्य प्रशिक्षक देसाईले नेपाललाई उत्कृष्ट नतिजा दिलाएका थिए । उनले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ मा १२ मध्ये ११ खेलमा जित दिलाएका थिए । तर, यस वर्ष भने उनको प्रशिक्षणमा नेपालले आइसिसी विश्वकप लिग २ मा १२ मध्ये आठ खेलमा हारको सामना गरेको छ । नेपालले गत वर्षको फेब्रुअरीमा नेदरल्यान्ड्सलाई नौ विकेट र अक्टोबरमा स्कटल्यान्डलाई पाँच विकेटले हराएको थियो । यसबाहेक नेपालले नामिबिया, नेदरल्यान्ड्स, क्यानडा र ओमानलाई नतिजा सुम्पिएको थियो । यसअघि मोन्टीसँग सन् २०१७ मा नेपालको यू–१९ टोलीको ब्याटिङ सल्लाहकारका रूपमा काम गरेका अनुभव छ । 

खेलाडी छनोटको आधार प्रमुख तीन प्रतियोगिता
क्यानको आयोजनामा हुने विशेष ब्याटिङ क्लिनिकमा नेपालको यू–१९ टोली, नेपाल प्रिमियर लिग र जय ट्रफीमा राम्रो ब्याटिङ गरेका २० युवा खेलाडीले स्थान पक्का गरेका छन् । मधेश प्रदेशबाट जय ट्रफीमा उत्कृष्ट ब्याटिङ गरेका मयन यादव विशेष क्लिनिकमा परेनन् । चोटका कारण उनी छनोटमा नपरेको क्यानले जनाएको छ । ‘चोटका कारण यादवलाई नराखिएको हो,’ क्यानले जनायो । बागमती प्रदेशका सर्वाधिक चार खेलाडी परेका छन् । यसैगरी त्रिभुवन आर्मी र कोशी प्रदेशबाट समान तीनजना छन् । 

सुझावित समाचार