६ महिनामा ४० पटक तानियो अधिक तरलता

बिहिबार, ३ माघ, २०८१
डिजिटल संस्करण

निक्षेपको ब्याजदर नियन्त्रण गर्न बजारबाट अहिलेसम्म १५ खर्ब प्रशोचन, निश्चित समयमा फिर्ता गर्नुपर्ने प्रावधानका कारण अहिले राष्ट्र बैँकको ढुकुटीमा दुई खर्ब ५५ अर्ब मौज्दात

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाबाट १५ खर्ब चार अर्ब ८० करोडको निक्षेप उठाएको छ ।

४० पटक गरी उठाइएको यस्तो निक्षेपमध्ये फिर्ता भएर अहिले केन्द्रीय बैंकसँग दुई खर्ब ५५ अर्ब ६० करोड रुपैयाँ मौज्दात छ । 

बैंकिङ क्षेत्रसँग रहेको अधिक तरलता निश्चित अवधिका लागि प्रशोचन गर्न नेपाल राष्ट्र बैंकले प्रयोगमा ल्याएका विभिन्न उपकरणमध्ये निक्षेप संकलन बोलकबोल पनि एक उपकरण हो । यसअन्तर्गत बोलकबोलका आधारमा ब्याजदर निर्धारण भई बैंक तथा वित्तीय संस्थाबाट नेपाल राष्ट्र बैंकले निक्षेप संकलन गर्ने गर्छ ।

जसबाट तरलता प्रशोचन हुन जान्छ । बोलकबोल नगरीकन निक्षेप संकलन दरमा निक्षेप संकलन गर्न सकिने व्यवस्था पनि छ । अहिले निक्षेप संकलन दर तीन प्रतिशत कायम छ । केन्द्रीय बैंकले साधारण निक्षेपको ब्याजदर तीन प्रतिशतभन्दा तल जान नदिन आफैँ तीन प्रतिशतमा बढी निक्षेप उठाउँदै आएको हो ।

यसले ब्याजदरलाई तीन प्रतिशतभन्दा घट्न दिएको छैन । केन्द्रीय बैंकले आह्वान नगरे पनि बैंक तथा वित्तीय संस्थाहरूले आफूसँग भएको अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकमा निक्षेप राख्न पाउँछन् । जसलाई स्थायी निक्षेप सुविधा भनिन्छ । हाल बैंक तथा वित्तीय संस्थाको ३३ अर्ब २५ करोड केन्द्रीय बैंकमा निक्षेप कायम छ । 

See More On

सुझावित समाचार