नेपाली महिला खो–खो टोलीले भारतको नयाँदिल्लीको इन्दिरा गान्धी इन्डोर रंगशालामा भइरहेको खो–खो विश्वकप प्रतियोगितामा सानदार प्रदर्शन गरिरहेको छ । महिला टोलीले लगातार दोस्रो जित निकालेको छ ।
प्रतियोगिताको समूह ‘सी’मा रहेको नेपालले मंगलबार जर्मनीलाई ७३–३४ को फराकिलो अन्तरले हरायो । प्रतिस्पर्धामा नेपालकी मानमती धामी उत्कृष्ट खेलाडी भइन् । यसअघि मंगलबारै भएको पहिलो खेलमा नेपालले भुटानलाई ९३–२४ ले पराजित गरेको थियो ।
समूह ‘सी’मा नेपाल, भुटान, जर्मनीसँगै बंगलादेश र श्रीलंका छन् । नेपाली महिला टोलीले बुधबार श्रीलंका र बिहीबार बंगलादेशविरुद्ध खेल्नेछ । हरेक समूहबाट शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् ।
नेपालको पुरुषले विश्वकपमा राम्रो नतिजा निकाल्न सकेन । समूह ‘ए’मा रहेको नेपालको पुरुष टोली पहिलो खेलमा आयोजक भारतसँग ४२–३७ ले पराजित भयो ।