बेरुजु फर्स्योट समितिका अध्यक्ष अच्युतप्रसाद मैनालीलाई ३ प्रश्न

मंगलबार, १ माघ, २०८१
डिजिटल संस्करण

बेरुजु फर्स्योट समितिले कसरी काम गरिरहेको छ ? 
सरकारले हामीलाई महालेखा परीक्षकले औँल्याएका २०६१ देखि ०६५ सम्मका बेरुजुलाई नियमित, असुलउपर र मिनाहा गर्ने अधिकार दिएको छ । समितिले हालै कार्यविधि तय गरेको छ । अहिलेसम्म तीनवटा बैठक बसे । अर्थ मन्त्रालयसँग समन्वय गरेर समितिलाई आवश्यक कर्मचारी मागेका छौँ । भरसक स्थायी कर्मचारीबाटै काम गर्ने हाम्रो अवधारणा छ । अनुभवी कर्मचारी लिएर छिटो, छरितो र व्यवस्थित ढंगले अघि बढ्छौँ । 

हाम्रो देशमा बेरुजुको मूल समस्या के रहेछ ? 
हाम्रो देशमा २०१८ सालदेखिकै बेरुजु फर्स्योट हुन बाँकी रहेछ । विगतमा समितिहरू बनेर केही काम भए पनि बेरुजु फर्स्योटतर्फ सम्बन्धित निकायको ध्यान नगएको देखियो । खर्च गर्ने एउटा र विनियोजन गर्ने अर्काे निकाय हुन्छ । महालेखा परीक्षकले निरन्तर आवाज उठाउँदै आएको छ, तर बेरुजुको अवस्था झन्–झन् बढेको देखियो । छोटो अवधिमा कर्मचारी सरुवा हुने, पहुँचका भरमा बजेट विनियोजन हुने, सम्बन्धित निकायहरू जिम्मेवार नहुने र वित्तीय अनुशासन पालना नगर्ने प्रवृत्ति नै बेरुजुका मुख्य समस्या देखिए । पुरस्कार र दण्डको व्यवस्था पनि देखिएन । बेरुजु गर्नेलाई कारबाहीको सिस्टम छैन । केही स्वार्थका कारण पनि बेरुजु फर्स्योट हुन नसकेको देखियो । 

फर्स्योटको काम कत्तिको चुनौतीपूर्ण देख्नुभएको छ ? 
फर्स्योटको काम निकै चुनौतीपूर्ण नै छ । यो अपजसको काम पनि हो । हामीले एउटा विधि तय गरेर काम गर्छाैँ । समितिमा अनुभवी र उच्च तहका प्रशासक सदस्य हुनुहुन्छ । जटिल विषय भयो भने विज्ञहरू बोलाएर पनि निर्णय गर्छौँ । विवादरहित ढंगबाट कसैलाई पनि काखापाखा नगरी राज्यको ठुलो मात्रामा रहेको बेरुजुलाई निराकरण गर्ने दायित्व पूरा गर्नेछौँ । 
 

सुझावित समाचार