मकवानपुर प्रहरीले १५ किलो ६८० ग्राम अवैध लागुऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय नेवारपानीको टोलीले पूर्व-पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९, नेवारपानीबाट दुईजनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मनहरी गाउँपालिका–३, हाँडीखोला बस्ने ४० वर्षका बाबु बल भन्ने नक्कलबहादुर बल र हेटौँडा–११ थानाभर्याङ बस्ने १९ वर्षका आशिष भन्ने सलमान गुरुङ रहेका छन्।
नारायणगढबाट हेटौँडातर्फ आउँदै गरेको ना५ख ५१२९ नम्बरको बसमा आएका उनीहरूलाई शंकाको आधारमा खानतलासी गर्दा १५ किलो ६८० ग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
उनीहरूले बोकेको झोलाभित्र लुकाएर ल्याएको अवस्थाको गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए। दुवैजनालाई जिल्ला अदालत मकवानपुरबाट आठ दिनको म्याद थपको अनुमति लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको उनको भनाइ छ।