निकुञ्ज र मध्यवर्ती क्षेत्रका बासिन्दाको समस्या समाधान गर्न संघीय सरकारको ध्यानाकर्षण

सोमबार, २९ पुष, २०८१
डिजिटल संस्करण

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रका स्थानीयले भोग्दै आएका समस्या समाधान गर्न संघीय सरकारको ध्यानाकर्षण गराएका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका (देउखुरी)मा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँगको भेटमा मुख्यमन्त्री आचार्यले बर्दिया राष्ट्रिय निकुञ्जको कर्णाली गेरुवा क्षेत्रमा पानी अभावका कारण समस्या उत्पन्न भएको भन्दै समस्या समाधानका लागि संघीय सरकारको ध्यानाकर्षण गराए। ‘बर्दिया राष्ट्रिय निकुञ्ज कर्णाली नदीतर्फको भूभाग अग्लो हुँदै गएको छ। पानी कैलालीतिर सोझिँदा वन्यजन्तुले पानी खान पाएका छैनन्। किसानले सिँचाइ गर्न पाएका छैनन्,’ उनले भने, ‘यो समस्या समाधान गर्न पानीको निकास गराउनुपर्नेछ।’

मानव वन्यजन्तु द्वन्द्व बढ्नुमा पानीको संकट प्रमुख कारण भएको र यो समस्यालाई गम्भीरतापूर्वक लिन उनले आग्रह गरे। किसानको करिब पाँच सय बिघा जग्गा राष्ट्रिय निकुञ्जमा परेको, तर त्यसको कुनै मुआब्जा नपाएको बारेमा पनि मुख्यमन्त्री आचार्यले ध्यानाकर्षण गराए। ‘जनताको पाँच सय बिघा जग्गा निकुञ्जमा परेको छ। जमिन भएर पनि सुकुमवासी बन्नुपर्ने अवस्था भयो,’ उनले भने, ‘यो समस्यालाई गम्भीरतापूर्वक लिनुपर्ने भएको छ।’

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले कर्णाली गेरुवा क्षेत्रको पानीको समस्या, मध्यवर्ती क्षेत्रको जग्गाको समस्यालगायतका विषयमा ध्यान दिने बताए।

सुझावित समाचार