राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन संघीय संसद् भवनको अवलोकन गरेका छन् । सिंहदरबार परिसरभित्र निर्माणाधीन भवनको सोमबार राष्ट्रपति पौडेलले अवलोकन गरेका हुन् । सो क्रममा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालकाे उपस्थित रहेको थियो ।
राष्ट्रपति पौडेललाई अवलोकनका क्रममा सहरी विकास मन्त्रालयका सचिव गाेपाल सिग्देलले साे भवन निर्माणमा भइरहेकाे प्रगतिबारे जानकारी गराएका थिए । साे क्रममा पौडेलले भवनसम्बन्धी विभिन्न जिज्ञासा राख्दै सम्बद्ध पक्षलाई यथाशक्य चाँडाे सक्न निर्देशन पनि दिए ।
संघीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभा, संसदीय समितिहरू, संसदीय दलका कार्यालयसमेत रहने गरी १२ वटा ब्लकसहितको भव्य संरचना निर्माण गरिएको छ ।
१७३ रोपनी क्षेत्रफलमा फैलिएको परिसरको ४५ प्रतिशत भूभागमा प्रतिनिधिसभा र राष्ट्रिय सभा रहनेछ । संघीय संसद् भवन नहुँदा ०६४ पछि सरकारले नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर संसद् भवनको रूपमा प्रयोग गर्दै आएको छ ।