यो साता कारोबारमा लगातार दोस्रो दिन पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक १५.५४ अंकले घटेर दुई हजार ५९४.१३ को विन्दुमा कायम भएको हो ।
आज विभिन्न ३२२ कम्पनीका एक करोड ३८ लाख ७० हजार पाँच सय ७९ कित्ता सेयर ६४ हजार २७८ पटक खरिद–बिक्री हुँदा रु. ६ अर्ब ६५ करोड आठ लाख ८३ हजारबराबरको कारोबार भएको छ ।
आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै व्यापार समूह १.८९, होटेल तथा पर्यटन १.३६ र वित्त समूह १.३२ प्रतिशतले घटेका छन् ।
बैंकिङ ०.३५, विकास बैंक ०.५८, जलविद्युत् ०.४९, लगानी ०.६० र जीवन बिमा ०.५० प्रतिशतले घटेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन ०.७७, लघुवित्त ०.४४, म्युचुअल फन्ड ०.४२, निर्जीवन बिमा ०.०२ र अन्य समूह ०.६७ प्रतिशतले घटेको छ ।
आज बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रु. ४५ करोड २५ लाख ५१ हजारबराबरको कारोबार भएको छ । कारोबार भएका सेयर संख्याका आधारमा भने सबैभन्दा धेरै माछापुच्छ्र्रे बैंककाे प्रमोटर सेयर आठ लाख ४९ हजार आठ ३३ कित्ता किनबेच भएको छ ।