कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा दुई सय वर्ष अघिदेखिको इतिहास जोडिएको माघेसंक्रान्ति मेला भोलिदेखि सुरु हुने भएको छ । कास्की र आसपासका क्षेत्रमा प्रचलित प्राचीन मेलाहरूमध्येको यो मेला सिक्लेस युवा क्लबको आयोजनामा गर्न लागिएको हो ।
सिक्लेसमा माघेसंक्रान्तिका दिनमा ठेलो हान्ने प्राचीन परम्परा दुई सय वर्ष अघिदेखि प्रचलनमा आएको इतिहासअनुसार त्यही समयदेखि नै यो मेला हुँदै आएको विश्वास गरिन्छ। क्लबका अध्यक्ष भोलामान गुरुङले ‘ग्रामीण पर्यटन प्रवर्द्धनका लागि सिक्लेस माघेसंक्रान्ति मेला’ भन्ने नाराका अवसरमा मेला गर्न लागिएको बताए ।
उनका अनुसार माघ १ देखि ४ गतेसम्म खुला पुरुष तथा महिला भलिबल, पुरुष बास्केटबल, गुरुङ गीतमा सामूहिक नृत्य प्रतियोगिता, ठेलोलगायत लोपोन्मुख स्थानीय खेलकुदका प्रतियोगितासहित विभिन्न सांस्कृतिक कार्यक्रम गरिनेछ ।मेलाका अवसरमा हुने खुला पुरुष भलिबल प्रतियोगिताका विजयीले एक लाख नगदका साथमा मेडल र प्रमाणपत्र, द्वितीय हुनेले रु. ७० हजारसहित मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।
त्यस्तै खुला महिला भलिबलतर्फ प्रथम हुनेले रु. ३० हजार, मेडल र प्रमाणपत्र तथा द्वितीय हुनेले रु. २० हजार, मेडल र प्रमाणपत्र पाउनेछन् । खुला पुरुष बास्केटबलतर्फ प्रथम हुनेले रु. एक लाखसहित मेडल र प्रमाणपत्र तथा द्वितीय हुनेले रु. ७० हजार नगदसहित मेडल र प्रमाणपत्र पाउनेछन् । मेलामा गुरुङ भाषा गीतको सामूहिक नृत्यमा प्रथम हुनेले रु. ६० हजार, मेडल र प्रमाणपत्र तथा द्वितीय हुनेले रु. ४५ हजार, मेडल र प्रमाणपत्र पाउनेछन् । तेस्रो हुनेले रु. ३० हजार, मेडल र प्रमाणपत्र पाउने जनाइएको छ ।
प्रतियोगिताअन्तर्गत ठेलो खेलका विजेताले रु. ४५ हजारसहित मेडल र प्रमाणपत्र तथा द्वितीय हुनेले रु. ४० हजारसहित मेडल र प्रमाणपत्र पाउनेछन् । ठेलो प्रतियोगिताको प्रमुख आतिथ्य ठेलो प्रतियोगिताका पूर्वविजेता केशबहादुर गुरुङले गर्ने जनाइएको छ । पोखराबाट करिब ४० किलाेमिटरको दूरीमा कास्कीको उत्तरपूर्वी भेगमा रहेको सिक्लेस मादी गाउँपालिका– १ अन्तर्गत अन्नपूर्ण हिमाल र लमजुङ हिमाल काखमा रहेको छ । यहाँ चार सय ५० घरधुरी रहेका छन् । ग्रामीण पर्यटन केन्द्रका रूपमा विकास भइरहेको यहाँ पर्यटकको सुविधालाई लक्षित गरी सुविधासम्पन्न ४७ वटा होटेल दर्ता भई सञ्चालनमा रहेका छन् ।
त्यसैगरी, ३६ वटा घरवास सञ्चालनमा छन् । पर्यटकीय याममा एक हजार पाँच सयदेखि दुई हजारजनासम्म पर्यटक सिक्लेसमा घुम्न आउने गरेको मादी गाउँपालिका– १ का वडाअध्यक्ष देवीजंग गुरुङले जानकारी दिए । सिक्लेसमा करिब नौ सय वर्ष अघिदेखि नै बसोबास सुरु भएको अनुमान गरिने बताउँदै उनले दुई सय वर्ष अघिदेखि यहाँ माघेसंक्रान्तिका अवसरमा ठेलो हान्ने प्रचलन रहेका कारण त्यसै वेलादेखि सिक्लेस माघेसंक्रान्ति मेला सुरु भएको अनुमान गरिने जानकारी दिए ।
पछिल्लो समय सिक्लेस जाने बाटोलाई व्यवस्थित गर्ने उद्देश्यका साथ तेस्रो खण्डको काम सुरु हुन लागेको उनले जानकारी दिए । काहुँखोला सिक्लेस सडकमा अहिले तेस्रो खण्डको कालोपत्र गर्ने काम सुरु गर्न लागिएको उनले बताए। गाउँ तथा पर्यटकको सुरक्षाका लागि ६४ स्थानमा सिसी क्यामेरा जडान गरिएको उनले जानकारी दिए । स्थानीयको सेवाका लागि चाँडो काम गर्न प्रविधिमैत्री काम थालिएको बताउँदै उनले कतिपय अवस्थामा जनतालाई कार्यालयसम्म जान नपर्ने सुविधासमेत दिइएको बताए । रासस