पाँच जिल्लामा भएका सवारी दुर्घटनामा पाँचजनाले ज्यान गुमाएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार मकवानपुर, बाँके, धनुषा, रुपन्देही र कपिलवस्तुमा भएका दुर्घटनामा पाँचजनाको ज्यान गएको हो।
मकवानपुरको मनहरी गाउँपालिका– ६ नयाँबस्तीस्थित सडकमा मनहरी बजारबाट नयाँबस्तीतर्फ जाँदै गरेको मनहरी बिलिभर्स इंग्लिस बोर्डिङ स्कुलको ना.१क ९२५० नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने खडकबहादुर थिङकी छोरी दुई वर्षीया पूजा थिङको आइतबार दिउँसो मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएकी उनको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बसचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाँकेको जानकी गाउँपालिका– ३ इन्द्रपुरस्थित सडकमा इन्द्रपुरबाट कर्मौनातर्फ जाँदै गरेको भे.१त ९८२६ नम्बरको ट्याक्टर आइतबार साँझ दुर्घटना हुँदा ट्याक्टरका सहचालक नेपालगन्ज उपमहानगरपालिका– १६ जयसपुर बस्ने २८ वर्षीय रफिक जोलाहको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टरचालक फरार भएका छन्।
धनुषाको सबैला नगरपालिका– १० सिमराढीस्थित सडकमा बा.प्र ०१–०२७ च ८२२९ नम्बरको कार र ज.११प ७७९६ नम्बरको मोटरसाइकल एक–आपसमा ठक्कर खाई आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकलचालक सबैला नगरपालिका– ९ भठियन बस्ने २१ वर्षीय अमनकुमार साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एकजनालाई थप उपचारका लागि न्युरो अस्पताल जनकपुरतर्फ पठाइएको छ भने कारचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रूपन्देहीको रोहिणी गाउँपालिका– ३ रामनगरस्थित सडकमा युपी ५५ डी ६९५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार भारत महाराजगन्ज प्रशामलिक थाना ग्रामपोस्ट बस्ने २६ वर्षीय राजेन्द्र चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलचालकको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
कपिलवस्तुकाे बुद्धभूमि नगरपालिका– २ बड्हरा पुलनजिक सडकमा बा.प्र ०३–००१ ख २२२० नम्बरको ट्रकले लु.९१प ३१४३ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिँदा मोटरसाइकलचालक कपिलवस्तु बुद्धभूमि नगरपालिका– २ गोरुसिंगे बस्ने २० वर्षीय अर्जुन थारूको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रकचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।