कर्णालीमा ‘देउता’ बग्छ

सोमबार, २९ पुष, २०८१
डिजिटल संस्करण

छाउप्रथालगायत अन्धविश्वास र कुप्रथाबारे देशको कानुनले के भन्छ, कर्णालीवासीलाई थाहा छैन, तर ‘देउताको नियम’ अकाट्य छ यहाँ

प्रसंग एक, सिन्जा जुम्लाका रूपधन ढोली (दमाईं)का बाजे सन्तोके ढोलीको प्रशस्त जमिन, खेतबारी, गाईबस्तु र सम्पत्ति थियो । उनी रूपमा सुन्दर, सुगठित शरीर भएका तथा बाँसुरी बजाउन र गीत गाउन माहिर थिए । रूपधनका अनुसार सन्तोकेको रूप र बाँसुरी बजाउने कलाका कारण कथित ‘उपल्लो’ जातका महिला पनि आकर्षित हुन्थे । बाहुनी, ठकुरी महिलाको उनीसँग लसपस भएको देखेपछि गाउँका ठुलाबडाले उनलाई सजाय दिने भए । उनलाई सजायस्वरूप अधिकांश सम्पत्ति छोड्न बाध्य पारियो । उनको सम्पत्ति हडप्ने उद्देश्यले षड्यन्त्रपूर्वक नै अधिकांश महिलालाई उनीकहाँ पठाउने गरिन्थ्यो ।

प्रसंग दुई, सिन्जाकै राम कुलाल (नाम परिवर्तन) रोजगारीका निम्ति सपरिवार भारतमा बस्छन् । किनभने उनको खेतबारीको उब्जनीबाट वर्षभरि परिवार धान्न सम्भव छैन । छोराको आसमा उनका १३ जना छोरी जन्मिए । उनका तीन छोरीको अकालमै मृत्यु भयो भने हाल १० जना जीवित छन् । कुलालदम्पती छोरा नजन्मिएका कारण आजीवन दुःखी छन् । 

प्रसंग तीन, गाउँमा छाउपडी प्रथा व्यापक छ । कतिपयले छाउगोठ भत्काएका भए पनि जुम्लाका आमा, छोरी, बुहारी अर्थात् स्त्री महिनावारीको अवधिमा गाईभैँसीसँगै गोठमा सुत्न बाध्य छन् । रूपधन ढोलीले महिलामाथि हुने छाउप्रथा हटाउन निकै कोसिस गरे । तर, गाउँलेद्वारा उल्टै उनीमाथि ‘देउता’ चढेकाले त्यस्तो अधर्मी कुरा गरेको आरोप लगाइयो । 

जुम्ला, कालीकोटलगायत कर्णालीका जिल्लामा रुढीवाद र ‘देउता आतंक’ व्यापक छ । उमेरले करिब ५० कटेपछि महिलाको महिनावारी बन्द भएन भने पनि ती महिला अलच्छिनी, पापिनी ठहरिन्छिन् । छोरी हाँस्दा उनको गालामा ‘डिम्पल’ बस्यो भने त्यो पनि अशुभ हो, त्यस्ती महिला श्रीमान् टोक्ने (त्यस्तो महिलाको श्रीमान्को अकाल मृत्यु हुन्छ भन्ने अध्यविश्वास व्याप्त छ ।) हुन्छिन् भन्ने अन्धविश्वास पालिरहेको छ यहाँको समाजले । महिनावारी भएकी महिलाले जे छोयो त्यही ‘अशुद्ध’ हुन्छ भनेर उनीहरूलाई बाक्ला, न्यानो हुने कम्बल वा सिरक ओड्न दिइँदैन । हिउँद महिनामा हिउँ पर्ने र अत्यधिक चिसो हुने हिमाली जिल्ला हुम्ला, मुगु, जुम्ला, कालीकोट आदि ठाउँमा आममहिलाको जीवन कति कष्टकर होला ? कल्पना गर्नसमेत कठिन छ ।

कालीकोट जिल्लाको सदरमुकाम मान्माबाट जुम्लातिर जाँदा बिचमा पर्छ, पिली बजार । ०६२ साउन २३ गते पिलीमा भिडन्त भएको थियो । माओवादी सशस्त्र विद्रोहको अन्तिम तथा सबैभन्दा बढी मानवीय क्षति भएको पिली भिडन्तमा १०३ जनाको ज्यान गयो । अग्ला पहाड, विशाल र कडा चट्टान तथा जटिल भौगोलिक अवस्थाका कारण कठिन मानिएको कर्णाली राजमार्गको ट्र्याक खोल्न बसेका सेनाका क्याम्पमा माओवादीले आक्रमण गरेको थियो । जुन भिडन्तमा १३ जना निहत्था मजदुरको समेत दुःखद मृत्यु भयो । हाल नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता खड्गबहादुर विकको गृहजिल्ला हो, कालीकोट । पहिलो संविधानसभा निर्वाचनमा उनी कालीकोटबाट निर्वाचित भएका र पछि मन्त्रीसमेत बने । स्मरण रहोस्, विक नै माओवादी पार्टीको पहिलो दलित केन्द्रीय समिति सदस्य हुन् ।

माओवादी प्रभावित जिल्ला, चर्चित पिली घटना भएको स्थान भए पनि कालीकोटमा माओवादी सशस्त्र विद्रोहको अग्रगामी प्रभाव भने देखिएन । छाउपडी प्रथा, जातीय विभेद र छुवाछुतलगायत अनेकौँ अन्धविश्वास, रुढीवादसहितको कालीकोट, पिली र समग्र कर्णालीमा कुनै सकारात्मक परिवर्तन अद्यापि हुन सकेको छैन ।

०६८ सालमा माओवादी आगोको ज्वालाजस्तो थियो । सोही सालमा ठकुरीको चुलो छोएको निहुँमा मनवीरे कामीको हत्या भयो । ०७५ सालमा कालीकोट नरहरिनाथ गापाकी निर्वाचित वडासदस्य मना सार्कीको जातकै कारण हत्या गरियो । शाही ठकुरी महिलाहरूको सांघातिक आक्रमणबाट उनको मृत्यु हुनपुग्यो । अन्तरजातीय प्रेम तथा विवाहका कारण हुने सांघातिक आक्रमण, गाउँनिकाला, असहयोग र बहिष्कार तथा कतिपयको हत्यासमेत हुने गरेका छन् । ०८० सालमा जुम्लाको तातोपानी गापाकी गिरी थरकी महिलाको दलित केटासँग प्रेमविवाह भएपछि उनको दाइले ज्वाइँको घरमा आगो लगाइदिए । यस्ता कैयौँ घटना मिडियासम्म पुग्नै पाउँदैनन् । आजकाल भने सामाजिक मिडिया फेसबुक, टिकटक आदिका कारण घटना लुकाउन उति सहज छैन ।

खस राजा नागराजको तत्कालीन दरबारलाई किनारा बनाएर बग्छ, हिमा नदी । उनी खस राज्यका संस्थापक राजा थिए । उनी ११औँ शताब्दीमा त्यहाँ प्रवेश गरेका थिए । नागराज बौद्ध धर्मावलम्बी राजा थिए । इतिहासअनुसार दक्षिणबाट आर्यहरू खस राज्यमा प्रवेश गरेपछि खस तथा अन्य मूलवासी जातिलाई वैदिकीकरण गरियो । सोबमोजिम कसैलाई क्षेत्री, कसैलाई ठकुरी र कसैलाई अछुत जातिमा विभाजित गरियो । 

हाल कनकासुन्दरी मन्दिर बनाइएको खस राज्यको राजधानी जुम्लाको सिन्जा उपत्यकालाई खस (नेपाली ) भाषाको उद्गमस्थल मानिन्छ । सिन्जामा ईसाको १३औँ शताब्दीको पुरातन देवनागरी लिपि फेला परेको छ, जसले त्यहाँ खस भाषाको उत्पत्ति र विकासको इतिहासलाई प्रमाणित गर्छ । विश्वकै उच्च स्थानमा फल्ने काली मार्सी धान यही ठाउँमा पाइन्छ । गोरखा राज्यले खस राज्यमाथि विजय प्राप्त गरेपछि सो राजदरबारलाई (कथित) कनकासुन्दरी मन्दिरमा परिणत गरियो । त्यससँगै उक्त क्षेत्रका मस्टो पूजक खस, दलित तथा आदिवासी जनजाति आदि जाति समुदायमाथि व्यापक धार्मिक र सामाजिक–सांस्कृतिक अतिक्रमण गरियो । गोरखाली शाह ठकुरी राजाको नेतृत्वमा राज्य विस्तार गरिएको भए पनि सांस्कृतिक रूपमा ब्राह्मणवादको व्यापक विस्तार हुन गयो । 

दसैँ मनाएको प्रमाणस्वरूप पशु (खसी, बोका, राँगा, सुँगुर आदि)को बली दिएपछि दैलोमा रगतको छाप लगाउनैपर्ने गोरखाली राजाको उर्दीको प्रभाव सिन्जामा हालसम्म कायम छ । यस्तो प्रचलन गोरखादेखि काठमाडौं उपत्यकासम्म देखिएकै परिघटना हो । कर्णाली बालिका विवाह, छाउपडी, कठोर जातीय विभेद र छुवाछुत प्रथा, धामी–झाँक्री, बोक्सी प्रथा, गरिबी, भौतिक विकटता एवं जटिलता आदि मुख्य समस्या छन् । 

कर्णालीमा देशको ऐन, कानुनभन्दा देउताको कानुन बढी चल्छ । अझ भनौँ कर्णालीमा पानीभन्दा बढी ‘देउता’ बग्छ । छाउगोठ भत्काउनु हुँदैन । छाउप्रथाबारे देशको कानुनले के भन्छ, कर्णालीवासीलाई थाहा छैन, तर ‘देउताको नियम’ अकाट्य छ । कानुनमा के अपराध, के न्याय लेखिएको छ, त्यो थाहा छैन, तर देउताको कसिमा के पाप, के पुण्य छ, त्यो भने थाहा छ, कर्णालीलाई । 

कथित अछुतले छोएको पानी, खाना खानुहुँदैन, खाए देउताले श्राप दिन्छन् । महिनावारी भएकी महिला अछुत हुन्छिन्, तिनले देउताको कानुन नमान्ने हो भने देउताले श्राप दिन्छन् । कानुन ज्ञात नहुन पाइन्छ, तर देउताको नियम नमान्नु वर्जित छ, कर्णालीमा ।

जुम्लाकी रामपुरा दमाईं, हुम्लाकी कमला ठकुरी, कालीकोटकी हंशकला सार्की, मुगु खत्याडकी सरस्वती वडलाई महिनावारी हुँदा छाउगोठ सुत्नुपर्ने धार्मिक शास्त्रीय मान्यता ज्ञात छैन । बूढी मस्टो मान्ने खस, ठकुरी पुरुष महिलालाई हिन्दुकरण गरिएको छ । दलित समुदाय आर्थिक, शैक्षिक र सामाजिक हैसियतमा अत्यन्तै कमजोर छन् । त्यति मात्रै होइन, तुलनात्मक हिसाबले छाउगोठ दलितकै धेरै, देउताको त्रास उनीहरूमा झनै बढी छ । रुढीवाद र अन्धविश्वासको व्यवहार झन् कडा छन् । 

अन्त्यमा, महिनावारी भएकी स्त्री ‘अशुद्ध’ हुने धार्मिक शास्त्रीय मान्यताको एउटा प्रसंग जोड्दै यो लेख टुंग्याउँदै छु । वेद र पुराणका अनुसार ब्राह्मण धर्मका सेनापति (कथित स्वर्गका राजा) इन्द्रले गुरु गौतम ऋषिकी पत्नी अहिल्यासँग अनैतिक यौन सम्बन्ध राखे । आफ्नी पत्नीसँग त्यस्तो हर्कत गरेको देखेपछि क्रोधित भएका ऋषिले इन्द्रलाई शरीरभरि हजार योनी उत्पत्ति हुने श्राप दिए । इन्द्रको शरीरभरि योनी नै योनी भएपछि उनी लाजले बाहिर निस्कन सकेनन् । 

त्यस्तो अवस्था बनेको थाहा पाएर विष्णुले श्राप कटनी गर्ने उपाय निकाले र त्यो श्राप स्त्री र नदीमा बाँडिदिए । तत्पश्चात् स्त्रीहरू प्रत्येक महिना महिनावारी हुनेभए भने नदी निरन्तर बग्नुपर्ने भयो । यस्तो काल्पनिक कथा कथेर महिलामाथि शोषण गर्ने षड्यन्त्र रचियो । कथाका पात्र अहिल्या, गौतम ऋषि, इन्द्र आदि थिए थिएनन्, थाहा छैन, तर मानवको उद्विकास भएदेखि नै महिलाहरू महिनावारी हुनथालेका हुन् । नदी, पानी निरन्तर बग्नेजस्तो प्राकृतिक प्रक्रियालाई समेत अनेक कथासँग जोडेर तथ्यलाई बंग्याइनुलाई पत्याउनु सम्भव छैन । मानिस सबै छुत र समान हुन् । मुलुकको संविधान, कानुनले कोही कसैलाई अछुत भन्न, त्यस्तो व्यवहार गर्न वर्जित गरिसकेको छ । छोरी, स्त्रीलाई छाउगोठ वा गाईबस्तुसँग सुत्न बाध्य पार्ने धार्मिक वा अन्य मान्यतासमेत स्वीकार्य हुनुहुँदैन, त्यस्तो कार्य गैरकानुनीसमेत हो । कर्णालीको यस्ता अमानवीय व्यवहार र मान्यताको अन्त्य गर्न जरुरी छ । कर्णालीमा देउता होइन, पानी नै बग्न दिऊँ ।

 

सुझावित समाचार