१४ वर्षीया इरा जाधवले भारतको यू–१९ एकदिवसीय इतिहासमा कीर्तिमानी ३४६ रन बटुलेकी छिन् । मुम्बईकी इराले आइतबार महिला यू–१९ एकदिवसीय ट्रफीमा मेघालयविरुद्ध अविजित तेहोरो शतकीय इनिङ्स खेलेकी हुन् । उनले १५७ बलमा ४२ चौका र १६ छक्का प्रहार गर्दै रेकर्ड राखेकी हुन् । मुम्बईले मेघालयविरुद्ध ५० ओभरमा तीन विकेटको क्षतिमा ५६३ रनको योगफल खडा गरेको थियो । लक्ष्य पछ्याएको मेघालय १९ रनमा अलआउट भयो ।
मेघालयका ६ खेलाडी डकआउट भए । मुम्बईले मेघालयविरुद्ध ५४४ रनको विशाल अन्तरको जित हात पार्यो । महिला यू–१९ खेलमा सर्वाधिक व्यक्तिगत स्कोर दक्षिण अफ्रिकाकी लिजेल लीको नाममा छ । सन् २०१० मा लिजेलले मपुमलंगाबाट केइविरुद्ध अविजित ४२७ रन बनाएकी थिइन् । मेघालयका तीन बलरले सयभन्दा बढी रन खर्चेका थिए । अलुर क्रिकेट मैदानमा इराले ५८ बाउन्ड्री प्रहार गर्दै २६० रन बटुलेकी थिइन् ।
उनले ८६ रन दौडेर लिएकी थिइन् । भारतको महिला क्रिकेटमा इराले व्यक्तिगत खडा गरेको योगफल समग्रमा अहिलेसम्मकै ठूलो हो । उनले स्मृति मधानाले यू–१९ क्रिकेटमा राखेकी दोहोरो शतकको कीर्तिमान पनि तोडिन् । इराले आफ्नो इनिङ्समा दुईपटक शतकीय साझेदारी गर्न सफल भइन् । उनले कप्तान हर्स गालासँग पहिलो विकेटका लागि २७४ रन जोडिन् ।
गालाले ७० बलमा ११६ रन बनाइन् । पहिलो विकेटका लागि भएको साझेदारीमा इराले मात्र १४९ रन बनाएकी थिइन् । त्यसपछि उनले दीक्षा पावरसँग दोस्रो विकेटका लागि १८६ रनको साझेदारी गरिन् ।
अक्सनमा इरा अनसोल्ड
सन् २०२५ को महिला प्रिमियर लिगमा इरा अनसोल्ड भएकी थिइन् । मिनी अक्सनमा उनले आफ्नो नाम पुनः दर्ता गराइन् । मिनी अक्सनमा समेत इरामाथि कसैले बोली लगाएनन् । अहिले भारतले सहभागिता जनाउने आइसिसी महिला यू–१९ विश्वकपमा उनलाई रिजर्भ खेलाडीमा समावेश गरेको छ । मलेसियामा १८ जनवरीदेखि सुरु हुने विश्वकपमा उनले मौका पाउने सम्भावना छ । कीर्तिमान बनाएपछि इराले आफ्नो आदर्श खेलाडी जेमिमा रोड्रिग्विज बताएकी छिन् ।