धेरै पहिले कुनै गाउँमा एकजना कन्जुस मानिस बस्थे । उनले जिन्दगीमा कहिल्यै कसैलाई केही दिएनन् । सम्पत्ति नै उनका लागि सर्वस्व थियो । त्यसैले, जब उनको मृत्यु भयो तब उनी सीधै नर्कमा पुगे । त्यहाँ उनले निकै कष्टसाध्य अवस्थामा दिनहरू बिताउनुपर्यो । उनी आफ्नो कष्टपूर्ण जीवन देख्दा असाध्यै दुःखी थिए । त्यसैले, उनी दिनरात रोइरहन्थे र भगवान्सित आफूलाई नरकबाट मुक्ति दिन बारम्बार प्रार्थना गरिरहन्थे ।
कन्जुसको लामो समयको प्रार्थना र अनुनय–विनयपछि भगवान्लाई उनीमाथि दया जाग्यो । त्यसैले, उनी कन्जुसलाई नर्कबाट बाहिर निकाल्ने उपाय खोज्न लागे । यस सम्बन्धमा भगवान्ले चित्रगुप्तसित पनि पटक–पटक सरसल्लाह गरे । कन्जुसलाई नर्कबाट निकाल्ने उपाय के हुन सक्छ भनेर चित्रगुप्तले पनि खोजी सुरु गरे । आफ्ना सम्पूर्ण बही जाँचबुझ गरिसकेपछि चित्रगुप्त निराश भए, किनकि कन्जुसले कहिल्यै कसैलाई केही दिएकै थिएनन् । तर, एक दिन थप बही खोतल्ने क्रममा चित्रगुप्तले कन्जुसले जीवनमा कसैलाई केही दिएको प्रमाण फेला पारे । कन्जुसले एकपटक एक गरिब भिखारीलाई एउटा सडेगलेको केरा दिएका थिए । आखिरमा भगवान्ले कन्जुसलाई नर्कबाट बाहिर निकाल्ने उपाय फेला पारिछाडे । उनले कन्जुसलाई एउटा लौरो दिए । त्यही लौरोको मद्दतबाट कन्जुस नर्कबाट बाहिर निस्कन सक्ने थिए ।
लौरो पाएपछि कन्जुस खुसी भएर त्यसमै चढेर बाहिर निस्कने प्रयास गर्न थाले । यो देखेर नर्कमा रहेका अरूहरू पनि लौरोमा चढ्न थाले । कन्जुसले सो लौरो भगवान्ले आफूलाई मात्र दिएको भन्दै उनीहरूलाई घचेटी–घचेटी लौरोबाट खसालिदिए । जब उनले लौरोमा चढेका अन्यलाई खसालिदिए, तब अचानक लौरो गायब भयो । उनी नर्कको नर्कमै रहे ।
मान्छेले जीवनमा अरूलाई जे दिन्छ, त्यही पाउँछ । अरूलाई खुसी दिनेले खुसी पाउँछ भने अरूलाई दुःख दिनेले त्यही दुःख पाउँछ । यही नै भगवान्को न्याय हो ।