मादक पदार्थ सेवन(मापसे) गरेर सवारीसाधन चलाउँदा दैनिक औसतमा चार दुर्घटना हुने गरेको प्रहरीको तथ्यांकले देखाएको छ। सबैभन्दा धेरै काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्ति रहेको प्रहरीले जनाएको छ।
प्रहरी प्रधान कार्यालयले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार गत साउनदेखि मंसिर मसान्तसम्मको पाँच महिनाको अवधिमा मापसेका कारण देशभरि ६२१ दुर्घटना भएका छन्। जसमा ४७ जनाले ज्यान गुमाएको र ८०७ जना घाइते भएको प्रहरी प्रवक्ता एसएसपी विश्व अधिकारीले जानकारी दिए।
यो अवधिमा मापसेका कारण सबैभन्दा धेरै उपत्यकामा ३७७ दुर्घटना हुँदा १६ जनाले ज्यान गुमाएका छन् भने ३८९ जना घाइते भएका छन्।
मापद पदार्थ सेवन गरेर सवारी चलाउनेविरुद्ध कारबाही गर्न रातको समयमा ट्राफिक प्रहरीले नियमित रूपमा दैनिक जाँचसमेत गर्दै आएको छ। तर, चालक नै अनुशासित नहुँदा मापसेका कारण ठुलो संख्यामा दुर्घटना भइरहेको प्रहरीले जनाएको छ।
